नयाँ बुलन्द
काठमाडौं : संघीय प्रेस फोरम नेपालले ११ ओटा जिल्लाका विभिन्न मिडियामा कार्यरत करिब पाँच दर्जन नयाँ पत्रकारहरुलाई सदस्यता नदिइएको भन्दै मंगलबार नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
संघीय प्रेस फोरमका अध्यक्ष गोविन्द छन्त्याल नेतृत्वको टोलीले महासंघको केन्द्रीय कार्यालयमै पुगेर सदस्य हुनबाट बञ्चित गराइएका क्रियाशील पत्रकारहरुलाई अविलम्ब सदस्यता दिने व्यवस्था मिलाउन माग गर्दै विष्टलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
‘आवश्यक प्रक्रिया अनुरुपका सबै कागजपत्रहरु पेस गर्दा पनि विभिन्न जिल्लाका क्रियाशील पत्रकार साथीहरु महासंघको सदस्य हुनबाट बञ्चित हुनुभएको छ,’ छन्त्यालले भने, ‘नेपाल पत्रकार महासंघ देशभर रहेका श्रमजीवि पत्रकारहरुसँगको साझा संगठन भएकाले महासंघले पनि कुनै दलप्रति आस्था राख्ने वा कुनै जाति वा समुदाय विशेषको पत्रकार भएकै कारण उनीहरुले महासंघको सदस्यता पाउन नसक्ने वा सदस्यता पाउनका लागि झन्झट व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ र महासंघलाई विशुद्ध श्रमजीवि पत्रकारहरुले अपनत्व गर्ने एउटा साझा संगठन बनाइनुपर्छ ।’
उनले कतिपय जिल्लामा ठूला दल निटकका पत्रकारहरुबाटै अन्य दलप्रति आस्था राख्ने पत्रकारहरुलाई बाइपास गर्दै सदस्यता दिन बञ्चित गरेको र गरैपत्रकारलाईसमेत महासंघको सदस्यता दिइएको घटनाहरु सार्वजनिक भएकाले यस विषयमा गम्भीर बन्न महासंघलाई आग्रह गरे ।
उनले हालसम्म कतिपय जिल्ला शाखाहरुको सम्मेलन भइसकेको भए पनि बाँकी जिल्लामा रहेका र सदस्यता लिन छुटेका पत्रकारहरुलाई अविलम्ब प्रक्रिया अघि बढाएर सदस्यता दिलाउन महासंघसँग अनुरोध गरे ।
साथै महासंघको जिल्ला, प्रदेश, प्रतिष्ठान, एशोसियटलगायत संगठनलाई समावेशी लोकतन्त्रको मूल्य र मान्यता अनुरुप समानुपातिक समावेशी बनाउनुपर्ने छन्त्यालले बताए ।
महासंघलाई ध्यानाकर्षण पत्र बुझाउनका लागि अध्यक्ष छन्त्यालसहित महासचिव सरोज खिलाडी, सचिव विजय चाम्लिङ, केन्द्रीय सदस्य वैजनाथ यादव, धनुषा जिल्ला सचिव रामह्रिदय यादव महासंघको केन्द्रीय कार्यालय पुगेका थिए ।