वैशाख ३१ मा स्थानीय चुनाव गर्ने सरकारको घोषणा

आयोगलाई साढे १० अर्ब निकासा गर्ने निर्णय

काठमाडौं : सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको तेस्रो बैठकले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय चुनावको मिति गर्ने निर्णय गरेको हो । आयोगले वैशाख ३१ कै मिति सुझाएको थियो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीले भने, वैशाख ३१ गते आइतबार एकै चरणमा स्थानीय तहको चुनाव हुन्छ ।’

सुरुमा स्थानीय चुनाव दुई चरणमा गर्ने तयारी थियो । र, आयोगले जेठ १ र २१ को मिति प्रस्ताव गरेको थियो । तर, सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आइतबार अबेर वैशाख अन्तिममा एकै चरणमा स्थानीय चुनाव गर्ने समझदारी भएको थियो ।

चुनाव घोषणाको तयारीका क्रममा सोमबार मन्त्रिपरिषद् बैठक तीन पटक बसेको थियो । विहान बसेको पहिलो बैठकले स्थानीय तहको संख्या बढाउने निर्णय गर्दै स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदललाई सात दिने समय दिएको थियो । दिउँसो बैठकले १४ देशका राजदूत नियुक्तका लागि सिफारिस गरेको छ भने पाँच सचिवको सरुवा गरेको छ ।

चुनाव घोषणाका लागि भने साँझ तेस्रो मन्त्रिपरिषद् बैठक बसेको थियो ।  मधेसी मोर्चाको असन्तुष्टि छ नि भन्ने प्रश्नमा प्रवक्ता कार्कीले भने, ‘अब देश चुनावमा गयो ।’

आयोगलाई साढे १० अर्ब दिने निर्णय

मन्त्रिपरिषद बैठकले स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगलाई झण्डै साढे १० अर्ब दिने निर्णय गरेको छ । १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७७५ रुपैयाँ चुनाव खर्च तत्काल निकासा गर्न अर्थ मन्त्रालयलाई भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार