नयाँ बुलन्द
इलाम : आधुनिक प्रविधिको विकाससँगै हुलाकमा चिठ्ठी आदानप्रदान हुन छाडेर इलाममा सञ्चालित हुलाकले बैङ्किङ सेवा दिन थालेको छ ।
जिल्ला हुलाक कार्यालय इलामका अनुसार जिल्ला हुलाकले प्रदान गरेको बैङ्किङ्ग सेवाबाट हालसम्म ६ करोड निक्षेप संकलन भएको छ । न्युनतम ५० रुपँयादेखी एक सयसम्म बचत गर्न मिल्ने सो सेवामा हालसम्म दुई हजार भन्दा बढीले खाता खोलेका कार्यालयले जनाएको छ ।
साधारण बचत खातामा तीन प्रतिशत र जेष्ठ नागरिक बचत खातामा चार प्रतिशत व्याजदर दिने व्यवस्था रहेको जिल्ला हुलाक अधिकृत जुवालदास राईले बताए ।
२०३३ सालबाट बचत सेवा प्रदान गर्न थालेको कार्यालयले स्थाइ कर्मचारीहरुलाई आठ प्रतिशत व्याजदरमा चार लाखसम्म ऋण लगानी गरेको छ । २०२६ सालमा छोटी हुलाकको रुपमा स्थापना भएको हुलाक २०३२ सालबाट जिल्ला हुलाक कार्यालयको रुपमा रहेर सेवा दिइ रहेको छ । यो सेवा २०६० सालबाट भने तिब्र रुपमा चलिरहेको छ । यो नितान्त सरकारी छापमा चल्ने भएकोले विश्वास बढ्दै गएकोले बचत गर्नेको संख्या दिन प्रतिदिन बढीरहेको अधिकृत राईले बताए ।
इलाममा एक जिल्ला, ११ इलाका , र ४० अतिरित्त हुलाक रहेका छन् । राईका अनुसार हुलाकमा अहिले दिनमा व्यक्तिगत चिठ्ठी गन्य मात्रामा आउने गर्छ । स्थागत रुपमा ६३ थान साधारण र २० थान रजिष्ट्रि चिठ्ठी आउने गरेको छ ।
हुलाकबाट दिनमा ५४ थान पठाइने साधारण र २६ थान रजिष्ट्रि चिठ्ठी संकलन गरिन्छ । विगत भन्दा ४० प्रतिशतले चिठीपत्र आदान प्रदान घटेको हो ।