फेरियो उषादेवीको दैनिकी

अधुरा सपना मेहनतले पुरा

सुतजा सुनुवार

इलाम : एक हप्ताको तालिमले जीवनको जिउने आधार बन्छ अनि आफुसँगै अन्यको फूर्सदिलो समय व्यवस्थित गर्नमा सहयोगी बन्न सकिन्छ भन्ने लागेकै थिएन इलाम सोयाङकी उषादेवी निरौलालाई । सात वर्ष अघि इलाम सदरमुकाममा निरौलाले तालिम लिइरहँदा ब्यवसायिक बन्न नै कठिन ठानेकी निरौलाको आजकल सहज भएको छ ।

मेहेनत बढी गरेमा लामो समय खर्चिएर तालिम लिइरहनु र दिइरहनु नपर्दो रहेछ भन्ने प्रष्ट बुझेकी छन् उनले । यसको ज्वलन्त उदाहरण बननेकी छन् इलाम अदुवा प्रशोधन उद्योगकी प्रोप्राइटर निरौला । प्रोप्राइटर निरौला भन्छिन्, ‘जीवनमा केही अधुरोपन केही खालीपनले नै खोज्न सिकाउदो रहेछ अनगिन्ती अवसरका बाटाहरु ।’

सामाजिक संघसस्थामा काम गर्ने क्रममा वि.सं.२०६६ सालबाट नै आफ्नो र अन्य महिला दिदीबहिनीको लागी पनि केही गरौँ भन्न सोच भएको उनी बताउँछिन् । भाग्यवश उद्योग वाणिज्य संघ इलामले वि.सं.२०६७ सालमा सिएपिडी कमर्सियल एग्रीकल्चरल डेब्लपमेन्ट प्रोजेक्टको सहयोगमा एक हप्ते अदुवाको क्याण्डी र अचार बनाउने दिएको थियो । सोहि तालिममा उनी पनि सहभागी बनेकी थिइन् । ‘तालिम भनेको त मार्ग तोकिदिने मात्र हो हिड्न त आफैँले श्रम गर्नुपर्छ ।’ उनी भन्छिन्– ‘तालिम अवधिभरमा अभ्यास ज्यादा गरेरै बिक्री हुनसक्ने सात प्रकारका अचार र क्याण्डी बनाउथेँ म ।

२०६८ सालबाट श्रीमानसँग सम्बन्ध विच्छेद गरेर एकल रुपमा संघर्ष गर्नु पर्ने भएपछि नै खालीपनलाई पूरा गर्न धेरै बाटाहरुको खोजी गरेँ ।’ प्रोप्राइटर निरौला निधार खुम्च्याउदै पुनः थप्छिन्– ‘समाजमा आफ्नो श्रीमान मरेर एकल बन्नु र श्रीमान छँदा छँदै एकल बन्नु भनेको भोगाई एउटै भए पनि पिडा आकाश पतालको फरक पर्दो रहेछ ।’

त्रसित मुद्रामा विगतलाई सम्झदै उनी भन्छिन्– ‘जीवन चलाउन निकै कठिन चुनौतीहरुसँग जुध्नु पर्छ । विगतमा आइपरेको चुनौती र गर्नु परेको संघर्ष म शब्दमा व्यक्त गर्नै सक्दिन ।’ निन्याउरो थियो यसरी बताइरहँदा उनको अनुहार । तर निरन्तर संघर्षमा जुटे त्यही चुनौतीले मजबुद पनि बनाउदो रहेछ भन्ने संकल्प उनले लिएकी छन् । ‘एक पछि अर्को समस्या निरन्तर थपिँदै जाँदा असिनाले पनि फूलबारीमा पहिले फूल नै झार्छ काँडा झार्दैन भन्ने ज्ञान सिकायो ।

यसै क्रममा किराना पसलसँगसँगै २०६८ सालदेखि आफ्नै सीपबाट अग्र्यानिक रुपमा अचार बनाउदै बिक्रीको सुरुवात गरेँ ।’ उनले सुरुमा दुई लाखबाट पसल सुरु गरेकी हुन् । उनी भन्छिन् ‘माइती जान नपाएका महिला दिदी बहिनीहरुको वेदनाले नै पाँच लाख रुपैँया ऋण काडेर २०७० सालमा इलाम अदुवा प्रशोधन उद्योग दर्ता गराएर काम सुरु गर्ने प्रेरणा मिलेको हो । आफू एकल भएका कारण सुरुमा निकै गाह्रो भयो । उद्योग खोल्नु मात्र ठूलो कुरा होइन । यो साह्रै संवेदनशील पक्ष हो ।’ उनी गम्भिर हुँदै मनको कुरा खोल्न पुगिन् । ‘उद्योग भन्ने चिज यस्तो गाडी रहेछ नी जहाँ पर सेकेण्ड गोलाईहरु आउँदा रहेछन् घुम्न जाने बच्यो नजान त्यही समाप्त । उद्यमी भनेको तीन पक्षलाई थेग्ने एउटा दरिलो माध्यम हो । व्यापारी, किसान र कच्चा पदार्थका डिलर बचाउने पिलर हो उद्योग ।

हामी मानिस भनेको अरुको लागी पनि सोच्ने प्राणी हौँ । समय, विश्वास र  वचनको पक्का हुनु पर्छ । हामी यी पक्षमा चुक्यौ भने निरन्तर खटाई र कठिन संघर्षले मात्र टिकीरहन अनि सफल हुन सम्भव छैन । तसर्थ हामीमा व्यवहारिक ज्ञान हुन जरुरत छ । अहिले एक सफल महिला उद्यमी भनेर मेरो नामसँगै जोडिएर आउने यो नामलाई बचाउन निकै कठिन छ ।’

सितिमिति खटाई र भोगाइले उद्योग चलाउन कठिन हुने उनको बुझाई छ । एक त नगरपालिकाले कच्चा पदार्थको स्थीर मूल्य निर्धारण नगरीदिनु, अर्को विचौलियाले गर्दा कृषि उपजका मूल्य निर्धारण गर्न गाह्रो हुनुले कच्चा पदार्थ ल्याउनमा जहिले पनि समस्या भइनै रहन्छ ।

अहिले सो उद्योगमा १३ प्रकारका खाद्य परिकारहरु बन्छन् । ‘महिनामा एक लाख ५० हजार जति आम्दानी हुन्छ । पूँजी स्टोर गर्न नपाइने भएकोले आम्दानी यति नै भयो भनेर दङ्ग पर्न पाइदैन । दुई जनालाई महिनामा १६ हजार तलब दिनु पर्छ । उद्योगमा काम गरेर आफू स्वावलम्बी बन्नुको सन्तुष्टिले साँच्चै नै सुखको अनुभूती दिलाउँदो रहेछ ।’ पुन हर्षित मुद्रामा उनले भनिन् ।

सोही उद्योगमा काम गरी रहेकी इलाम नगरपालिका सात निवासी सेवी राईले पनि फूर्सदिलो समय भएर छट्पटाउने गरेको तर हाल ब्यस्त बनाएको बताइन् । काम गर्न थाले पछि भने कसरी समय बिताउने भन्ने चिन्ता हटेको उनी बताउँछिन् । सोही उद्योगमा कार्यरत लिला पाण्डे पनि जीवन ब्यस्त भएको महसुस गर्छिन् ।

इलामका स्थानिय सम्पूर्ण बजारदेखि विराटनगर, झापा, मोरङ्ग, पहाडी भू भागका बजार र काठमाडौँसम्मको बजारमा बिक्री हँदै आएको सामाग्री मासिक रुपमा अचारमात्र पाँच सय किलो खपत हुने उद्योगकी प्रोप्राइटर निरौलाले बताइन् । यस्तै क्याण्डी ६० कलो ग्राम, खोर्सानी पाँच सय किलो ग्राम विक्री हुने गरेको निरौलाले वताइन् ।

हाल सम्ममा प्रोप्राइटर निरौलाले दुई सय जना बढिलाई तालिम दिइसकेको बताइन् । तालिम दिएकामध्ये १५ जना भने आफै उद्योग खोलेर स्वावलम्बी बनेको उनी बताउँछिन् । हाल जीवन चलाउने र परिवार पाल्ने माध्यम सोहि उद्योग बनेको उनी बताउँछिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार