कतारमा २२० कामदार अलपत्र

काठमाडौं : कतारको स्केल ट्रेडिङ एण्ड कन्ट्रक्टिङ कम्पनी बन्द भएपछि झन्डै २ सय २० कामदार अलपत्र परेका छन् । जसमा ८० जना नेपाली कामदार छन् ।

कम्पनी सञ्चालक सम्र्पकविहीन भएपछि ती कामदारले चार महिनादेखि तलबसमेत पाएका छैनन् । गत डिसेम्बर २८ देखि काम बन्द भएपछि उनीहरू सनैया–४१ स्थित लेवर क्याम्प बस्दै आएका छन् ।
‘हामीले अक्टोबर महिनाबाटै तलब पाएका थिएनौं । तलब नपाए पनि काम गर्दै आएका थियौं । कम्पनी मालिक नै सम्पर्क नभएपछि डिसेम्बर २८ बाट काम छाडेर क्याम्मै बस्दै आएका छौं,’ कम्पनीका ड्राइभर रहेका धादिङका रत्न लामाले कान्तिपुरलाई भने,‘अहिले हामीलाई दिनहुँ छाक टार्न समस्या पर्न थालेको छ ।’

ती कामदारहरू अधिकांश दुई वर्षअघि मिथिला र सेफल्याण्ड म्यानपावरबाट गएका थिए । ८ जना मात्रै ८ महिना अगाडि पुगेका हुन् । उनीहरूले लसेलस्थित व्यक्तिको घर बनाउने काम गर्दै आएका थिए ।  उनीहरू सबै गैरकानुनी हैसियत भइसकेका छन् । ‘हामी सबैको आईडी कार्ड (परिचयपत्र)को म्याद सकिसकेको छ । प्रहरीले चेकजाँच गर्दा पक्राउ परिन्छ । दिनभर राखेर बेलुका छाडिदिन्छ,’ अर्का पीडित धनुषाका अजय चौधरीले भने, ‘हामी स्वदेश फिर्न चाहन्छौं । तर सकिरहेका छैनौं ।’

अधिकांश कामदारले ४ देखि ५ हजार रियाल (एक लाख ५० हजार रुपैयाँसम्म) तलब लिन बाँकी छ । उनीहरूले आफूहरूलाई उद्धार गरी स्वदेश पठाउन कतारको उच्च अदालत, श्रम विभाग र खोज तथा अनुसन्धान विभागमा समेत पुगेको बताए । ‘कतैबाट केही सहयोग पाइएको छैन । बस्न समस्या छैन तर खाना  समस्या भइसक्यो,’ उनले भने,‘जेनतेन साथीभाईसँग सहयोग लिएर दैनिकी चलाउदै आएका छौं ।’

कतारस्थित नेपाली दूतावासले पीडित कामदारले समस्या समाधान गर्न कतार सरकारलाई आग्रह भइसकेको जनाएको छ । ‘पीडितको समस्या समाधान गर्न दूतावासले सम्बन्धित निकायलाई पत्र पठाइसकेका छौं,’ दूतावासका एक अधिकारीले भने,‘हाम्रो तर्फबाट पनि कामदार र कम्पनी प्रतिनिधिसँग समन्वय गरिरहेका छौं ।’

कम्पनी प्रतिनिधिले आर्थिक समस्या आएकाले कामदारलाई तलब भुक्तानी गर्न कठिनाई भएको र स्वदेश पठाउन नसकिएको जनाएको छ । दूतावासले स्वदेश फिर्नेलाई नेपाल पठाइदिन र कतारमै बस्न चाहनेलाई ‘रिलिज’ (अर्को कम्पनीमा काम गर्न पाउने अनुमति) दिन कम्पनी प्रतिनिधिलाई अनुरोध गरेको छ । प्रतिनिधिले कामदारको इच्छा अनुसार स्वदेश पठाउन र कतारमै राख्न आफुहरू तयार भएको प्रतिबद्धता दिएको दूताबासले जनाएको छ ।

इकान्तिपुरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार