नयाँ बुलन्द
इलाम : जिल्लाको स्थानीय निकायका कर्मचारीहरुको आन्दोलनका कारण स्थानीयले सास्ती खेप्नु परेको छ ।
जिल्ला विकास समिति, नगरपालिका तथा गाउँ विकास समितिमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि इलामका जनता मारमा परेका छन् ।
सरकारले स्थानीय निकायको संरचनामा कर्मचारीको व्यवस्थापन र समायोजन गर्दा हालका स्थानीय निकायहरु जिल्ला विकास समिति, नगरपालिका र गाँउ विकास समितिका कर्मचारीहरुलाई नै पहिलो प्राथमिकता दिनु पर्ने र सो स्थानमा समायोजन पश्चात कर्मचारी अपुग भए पछिमात्र नीजामति सेवाबाट खटाउनु पर्ने माग राख्दै जिविस तथा नगरपालिकाका कर्मचारीले एकै साथ कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएपछि स्थानीय मारमा परेका हुन् ।
कर्मचारीहरुको आन्दोलनको कारण जिविस, नगरपालिका र गाविसवाट पाउनुपर्ने सेवासुविधा नागरिकले पाउन सकेका छैनन् । जिल्लाभरीका स्थानीय निकाय एकैपटक ठप्प भएको कारण जन्मदर्ता, नागरिकता, मृत्युदर्ता, जग्गा पास गराउन सिफारिश तथा वैदेशिक रोजगारीका लागि सिफारिश लगायतका दैनिक कामकाज पूर्ण रुपमा बन्द भएका छन् ।
स्थानीय निकाय ट्रेड युनियन संयुक्त समन्वय समितिले सोमवारदेखि नै विकास निर्माणको पिक आवरमा आन्दोलनमा उत्रिएको कारण आगामी वर्षको लागि गर्नुपर्ने जिल्ला परिषद समेत प्रभावित हुने देखिएको छ ।
कर्मचारीहरुले नगरपालिका र जिविसको मुल गेटमै धर्ना दिँदै आएका छन् । नयाँ संरचनाहरुमा स्थानीय निकायमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई उचित व्यवस्थापनको माग सहित सरकारले आफूहरुको माग सम्बोधन नगरे अनिश्चितकालसम्म आन्दोलन जारी रहने उनीहरु बताउँछन् ।