नयाँ बुलन्द
इलाम : नौ वर्षअघि ६० लाख रुपैयाँ लागतमा सुरु भएको खानेपानी योजना पूरा नभएपछि जिल्लाको पूर्वी भेग समालवुङका एक सय ७० घरधुरी समस्या भोग्दै आएका छन् ।
२०६४ सालमा सुरू भएको खानेपानी तथा सरसफाइ योजना अलपत्र भएपछि समालबुङको २, ३ र ४ नम्बर वडाका बासिन्दा खानेपानीको चरम समस्यामा परेका हुन्। करिब सात किलोमिटर टाढाको मुहानबाट खानेपानी ल्याउनेगरी काम सुरु गरिएको थियो।
काठमाडौं छिमेक सेवा संस्थाले जिम्मा लिएको आयोजनाका लागि उपभोक्ताबाट प्रतिघर १ हजार २ सय रुपैयाँ उठाइएको थियो । यस्तै समालवुङ गाविसले ५० हजार रुपैयाँ सहयोग रहेको थियो । खानेपानीको लागि प्रत्येक घरबाट महिना दिनसम्म श्रम दिएको योजनामा कम गुणस्तरका सामान प्रयोग गरेको र पानी सञ्चालन नगरी गायब भएको स्थानीय बासिन्दाको आरोप छ ।
फलामको पाइप लगाउनुपर्ने स्थानमा प्लास्टिकको पाइप लगाइएको र सर्भे गलत स्थानबाट भएपछि आयोजना सञ्चालन हुन नसकेको हो। आयोजनाका बारेमा सम्बन्धित संस्थालाई पटक पटक जानकारी गराउँदा समेत बेवास्ता गरेको उपभोक्ता समितिका अध्यक्ष फुर्वा घिसिङ बताउँछन् । ‘पाइपलाइन विस्तार भए पनि प्राविधिक त्रुटिका कारण योजना सञ्चालन नभएपछि बनाइएका संरचना अलपत्र अवस्थामा छाडेर प्राविधिक भागेको छ’ योजना अलपत्र परेपछि मूल सडक खन्दा डोजरले पाइपलाइन नै क्षतविक्षत बनाएको र निर्माण सामग्री चोरी भएको समितिका सचिव कृष्ण तामाङले बताए ।
उनले भने ‘आयोजनाले ३४ वटा धारा निर्माण गर्नुपर्नेमा १४ वटा मात्र निर्माण भएका छन् । पानी जम्मा गर्ने तीन वटा टयाङ्की बनाउनुपर्नेमा २ वटा मात्र बनाएर अलपत्र अवस्थामा छन्।’ खानेपानी आयोजना निर्माण कोष बोर्डले भने छिमेक सेवा संस्थाले समयमा काम सम्पन्न नगरी फरार भएका कारण समस्या भएको बताएको छ।
ठेकदार कम्पनीलाई कारवाही समेत गरेको जनाउँदै अधिकारीले अव सो आयोजनालाई पुर्ननिर्माण गरी धारामा पानी आउने व्यवस्था मिलाउने कोषका भरत अधिकारीले बताए ।