प्रजातान्त्रिक योद्धाको सम्झनामा फूटबल प्रतियोगिता

नयाँ बुलन्द

इलाम : प्रजातन्त्र दिवशको अवसरमा नेपाल तरुण दल क्षेत्र नम्बर ३ ले ‘सातखाल्डे शहिद स्मृती फूटबल’ प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

२०१८ सालमा इलामको माइपोखरीमा खाल्डोमा लगाएर हत्या गरिएका सात जना प्रजातन्त्र सेनानीको स्मृतीमा साखेजुङस्थित नेपालटार माविको मैदानमा तरुण दलले प्रतियोगिता आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दियो ।

प्रतियोगिता फागुन ७ अर्थात प्रजातन्त्र दिवशको दिन उद्घाटन हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद एक लाख ११ हजार र उपविजेताले नगद ५१ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै उदयीमान खेलाडी, उत्कृष्ठ डिफेन्डर, उत्कृष्ठ मिडफिल्डर, उत्कृष्ठ खेलाडी र उत्कृष्ठ गोल किपरलाई समेत जनही एक हजारका दरले पुरस्कृत गरिने छ ।

प्रतियोगितामा इलाम, पाँचथर र ताप्लेजुङका टिमहरु सहभागि हुने तरुण दल क्षेत्र नम्बर ३ का सचिव भिमराज शंकरले जानकारी दिए । प्रतियोगिताको फाइनल १४ गते हुनेछ ।

स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने, खेलकुदको विकास सहित जिल्लालाई खेलकुद पर्यटनतर्फ उन्मुख गराउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका सभापती मोहन गुरुङले जानकारी दिए ।

आयोजकले प्रतियोगिता सम्पन्न गर्न करिव सातलाख खर्च हुने अनुमान गरिएको छ । पहिलो पुरस्कार सिद्धार्थ निर्माण सेवा, गरामनी झापाका प्रोपाइटर नेत्र गौतमले प्रायोजन गरेका छन् । अन्य रकम पार्टीकै शुभचिन्तकहरुबाट प्राप्त भइरहेको जनाइएको छ ।

प्रतियोगिता उद्धाटन गर्न नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा केन्द्रिय सदस्य प्रकाशमान सिंह, व्यवस्थापिका संसदका सांसद एवम् केन्द्रिय सदस्य भिष्मराज आङ्दाम्बे लगायतका नेताहरु आउने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार