नयाँ बुलन्द
गजुरमुखी : इलामको गजुरमुखीमा सञ्चालित ‘हर्कबहादुर देवान स्मृति नकआउट फूटबल प्रतियोगिता’ को उपाधि गजुरमुखी धामले जितेको छ ।
शनिबार सम्पन्न फाइनलमा साङ्गरुम्बा फूटबल क्लबलाई ५-३ गोलको अन्तरले पराजित गर्दै गजुरमुखी धामले उपाधि चुमेको हो । उपाधिका लागि गजुरमुखीका विकास लिम्बू एक्लैले सबै गोल गरेका थिए ।
खेलको १७ औं मिनेटमा विकासले पहिलो गोल गरी टिमलाई अग्रता दिलाए । ३३ मिनेटमा दोस्रफ गोल गरी अग्रता दोब्बर बनाए । एक मिनेटपछि ३४ औं मिनेटमा साङ्गरुम्बाका प्रविन राईले गोल गरी अन्तर २-१ मा झारे । ४३ औं मिनेटमा पुन: साङ्गरुम्बाकै सन्दिप राईले गोल गरी खेल २-२ को बराबरीमा ल्याए । एक मिनेट पनि बत्न नपाउँदै ४४ औं मिनेटमा गजुरमुखीका विकासले तेस्रो गोल गर्दै टिमलाई पुन: अग्रता मात्र दिलाएनन् आफ्नो ह्याट्रिक समेत पूरा गरेका थिए ।
प्रतिष्पर्धात्मक खेलमा मध्यान्तरपछि गजुरमुखीका विकासले ५९ र ६८ औं मिनेटमा लागातार गोल गरी टिमलाई सहज रुपमा उपाधि दिलाएका थिए । उता साङ्गरुम्बाले भने थप गोल गर्न नसकेपछि उपविजेतामै चित्त बुझाउन बाध्य भयो ।
जितसँगै गजुरमुखी धामले नगद ४० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्यो । उपविजेता साङ्गरुम्बाले नगद २० हजार रुपैयाँमा चित्त बुझायो ।
प्रतियोगिताको उत्कृष्ठ खेलाडी गजुरमुखी-९ सी का सन्तोष रम्तेल र सर्वाधिक गोलकर्ता रवि फूटबल क्लबका मेहेन्द्र खवास घोषित भए । खवासले प्रतियोगितामा १० गोल गरेका थिए । उनीहरु दुवैले ट्रफि र प्रमाणपत्र प्रात गरे ।
भुलभुले सामुदायिक विकास केन्द्रको आयोजनामा भएको प्रतियोगितामा पाँचथर र इलामका गरी २२ टिमको ससहभागिता रहेको थियो । गत १९ माघदेखि सञ्चालित प्रतियोगिता गजुरमुखी-९ तोभाङ्गस्थित वरभञ्ज्याङ्ग आधारभूत विद्यालयको खेलमैदानमा भएको थियो ।
प्रतियोगिताको पुरस्कार (प्रथम र द्वितीय) स्वर्गीय हर्कबहादुर देवानको परिवारले सौजन्य गरेको थियो । देवानका परिवारबाट लक्ष्मी देवान, लिला राई, सुमित राई, कोकिला देवान, विजय देवान, सृजना देवान, रोहन देवान, रोशा देवान र विशाल देवानले आर्थिक सहयोग उपलब्ध गराएका हुन् । समाजसेवी हर्कबहादुरको गत भदौ ४ गते ६९ वर्षको उमेरमा निधन भएको थियो । उनकै स्मृतिमा परिवारको प्रायोजनमा प्रतियोगिता आयोजना गरिएको हो ।
त्यस्तै प्रतयोगिता सञ्चालनका लागि अन्य विभिन्न संघसंस्था तथा व्यक्तिहरुले समेत सहयोग गरेका थिए । बैदेशिक रोजगारीका शिलशिलामा दक्षिण कोरियामा कार्यरत तोभाङ्गबासी युवाहरुको विशेष सहयोग रहेको थियो ।