पवित्रहाङमा गोल्डकप : फाइनलमा माङ्सेबुङ र न्युस्टार भिड्ने

सुमिना वनेम

माङसेबुङ : इलामको बाँझोस्थित माङ्सेबुङमा संचालित सातौ पवित्रहाङ्मा महिला गोल्डकप फुटबलको उपाधिको लागि माङ्सेवुङ युथ क्लब इलाम र न्युस्टार क्लब किर्तिपुर मोरङ भिड्ने भएका छन् ।

शुक्रबार भएको अन्तिम सेमीफाइनलमा पारिजात महिला फूटबल क्लब झापालाई ४-० को सहज जित निकाल्दै न्युस्टारले अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेको हो । पहिलो सेमीफाइनलबाट माङसेबुङ युथ क्लब सेमीफाइनल प्रवेश गरेको छ ।

खेलको १२ औं मिनेटमा सुरु लिम्बूको गोलबाट अग्रता लिएको न्युस्टारले पहिलो हाफसम्म सरुकै गोलबाट २-० को अग्रता लिएको थियो । सरुले दोस्रो गोल २९ औं मिनेटमा गरेका थिए ।

दोस्रो हाफमा पनि सरुकै गोलबाट न्युस्टारले अग्रता दोब्बर बनाएको थियो । दोस्रो हाफमा ४० र र ६२ औं मिनेटमा लगातार सरुले नै गोल गरी टिमलाई ४-० को जित निश्चत दिलाएकी थिइन् । उता पारिजातलाई भने रक्षात्मक खेल्न समेत निकै हम्मेहम्मे परेको थियो । उसले विपक्षीको पोलमा खासै बल पुर्‍याउन सकेको थिएन । म्यान अफ द म्याच विजेता न्युस्टारकी मुना लावती लिम्बू घोषित भइन् । उनले नगद एक हजार रुपैयाँ प्राप्त गरिन् ।

प्रतियोगिताको फाइनल खेल फागुन २ गते सञ्चालन हुनेछ । उपाधिका लागि दावेदार मानिएको दुवै टिमबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

फूटबलको विजेताले नगद ६१ हजार ६१ रुपैयाँ र उपविजेता टिमले नगद ३५ हजार ६१ रुपैयाँसहित ट्रफिमेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरलाई जनही तीन हजार पाँच सय ६१ रुपैयाँ प्राप्त गर्नेछन् ।

किरात धर्मगुरुआमा पवित्रहाङ्मा साँवा लिङदेनको ६१ औं जन्मोत्सवको अवसरमा किरात साम्यो हक्चात यक्चुम बाँझो इलामको आयोजनामा जारी प्रतियोगितामा इलामझापापाँचथरताप्लेजुङ्ग र मोरङ्गका ८ महिला टीमले सहभागीता जनाएका छन् ।

प्रतियोगिताको फाइनलका दिन म्याराथुन दौड, म्युजिकल चियर, लठ्ठा तान्ने, हाडी फोड्ने लगायतका खेलहरु समेत आयोजना गरिने आयोजक समितिका सचिव मनकुमार आङ्बुहाङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार