नयाँ बुलन्द
इलाम : स्थानीय निकाय ट्रेड युनियन केन्द्रीय समन्वय समितिको आह्वानमा १९ माघ देखि सञ्चालित स्थानीय निकायका कर्मचारीहरुको आन्दोलनमा नेपाल निजामती कर्मचारी युनियनले ऐक्यवद्धता जनाएको छ ।
पूर्वाञ्चल भ्रमणको क्रममा इलाम आइपुगेका युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोपाल पोखरेलले जिल्ला विकास समितिको कार्यालय इलाम र इलाम नगरपालिका कार्यालयमा उपस्थति भई आन्दोलनरत स्थानीय निकायका कर्मचारीहरुलाई सम्बोधन गर्दै स्थानीय निकाय ट्रेड युनियनको आन्दोलनमा आफ्नो र युनियनको साथ, समर्थन र सहयोग रहने बताएका हुन् ।
आन्दोलनका चरणबद्ध कार्यक्रम अनुसार शुक्रबार स्थानीय निकायका कर्मचारीहरुले दिउँसो १० देखि १ बजेसम्म हातमा कालोपटृी बाँधेर पेन डाउन (कलम बन्द) कार्यक्रम सम्पन्न गरेका छन् ।
स्थानीय निकायका कर्मचारीहरुको आगामी कार्यक्रम फागुन १ गते स्थानीय निकायका सेवाहरु पूरै दिन बन्द गर्ने कार्यक्रम रहेको जनाईएको छ ।
स्थानीय तहको निर्वाचन घोषणा, नयाँ संविधानको मर्म र भावना अनुरुप प्रभावकारी सेवा प्रवाह गर्न सक्ने सांगठनिक संरचनाको व्यवस्थापन, नागरिक सेवा प्रवाहमा देखिएका समस्याहरुको समाधान, क्षतिपूर्ति सहितको सेवा प्रवाहको सुनिश्चितता, स्थानीय निकायमा बिसौ वर्षदेखि अस्थायी तथा करारमा कार्यरत कर्मचारीहरुको समुचित व्यवस्थापन, स्थानीय निकायका कर्मचारीहरुको सेवासुविधा तथा वृत्ति विकासको सुनिश्चितता जस्ता माग र मुद्दाहरू नेपाल सरकार समक्ष अगाडि सारेर स्थानीय निकाय ट्रेड युनियन, केन्द्रीय समन्वय समितिले आन्दोलनका कार्यक्रम अगाडि सारेको नेपाल नगरपालिका कर्मचारी एसोसिएसनका केन्द्रीय सदस्य राधाकृष्ण घिमिरेले बताए ।
यस अघि गत माघ २३ मा स्थानीय निकाय ट्रेड युनियनको माग सम्बन्धमा स्थानीय निकाय कर्मचारी संघ नेपाल, जिल्ला समिति इलाम, नेपाल नगरपालिका कर्मचारी एसोसिएसन इलाम र गाविस कर्मचारी संघ नेपाल जिल्ला समितिले जिल्ला संयुक्त परिचालन समिति गठन गरी जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समितिको कार्यालय, इलाम नगरपालिका कार्यालय, सूर्योदय नगरपालिका कार्यालय र देउमाई नगरपालिका कार्यालयमा र गत माघ २५ गते स्थानीय राजनैतिक दलहरुमा केन्द्रीय समन्वय समितिको प्रेस विज्ञप्ति उपलब्ध गराई स्थानीय निकायका कर्मचारीहरुको माग तथा मुद्धाहरुको समाधानमा सहयोगको लागि आग्रह गरेको थियो ।