सुजता सुनुवार
इलाम : आत्महत्याले मृत्यु भएका व्यक्तिहरुको आत्माको चीर शान्तिको कामना गर्दै इलामको पशुपतिनगरस्थित उर्गेन छोलिङ यल्मो गुम्बामा महापुजा सुरु भएको छ ।
भारतबाट ३० जना र नेपालका स्थानीय गरी ५० जना लामाहरुको उपस्थितिमा पुजाको उद्घाटन गरिएको आयोजक गुम्बा व्यवस्थापन समितिका अध्यक्ष लाकेन लामाले जानकारी दिए ।
इलाममा आत्महत्याका घटना बढिरहेको भन्दै यस्ता पूजाले अकालमा हुने मृत्यूलाई समेत रोक्न मद्धत गर्ने आयोजकको दावी छ । दुख, कष्ठ र अनिष्ठ अन्त्य गर्न गरिने पूजामा जो कोही सहभागी बन्न पाउने मूल आयोजक समिति संयोजक दोर्जे लामाले जानकारी दिए ।
उर्गेन छोलिङ यल्मो गुम्बा विकास संघ बज्र किलाम महापूजा आयोजक मूल समिति पशुपतिनगर–१ तिनखुट्टेको आयोजनामा भएको पूजा जिल्लाको अहिलेसम्म कै ठूलो बौद्ध पूजा भएको समिति सचिवालयका सदस्य लाके लामाले बताए ।
मृतकको सम्झनामा कसैले पूजा लगाउन चाहे मृतकको लुगा वा उसले जीवित हुदा प्रयोग गर्ने गरेको कुनै सामान ल्याउनु पर्नेछ । आगामी फागुुन ५ गते सम्म सञ्चालन हुुने पुुजा सम्पन्न गर्नका लागि १० लाख खर्च लाग्ने अनुुमान आयोजकले गरेको छ ।
समितिका अध्यक्ष दोर्जे लामाको अध्यक्षता तथा व्यवस्थापिका संसदको सदस्य लिलादेवी श्रेष्ठ र नामट्रोलिङ्ग गुम्बा साउथ इण्डियाका लामा तोर्जे लोपेन लामाको प्रमुख आतित्थ्यतामा दिप प्रज्वलन गरी पूजाको उत्घाटन गरिएको हो ।