चुनाव गर्न नसके सत्ता छाड्न झलनाथको चुनौती

इलाम : नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्यनका लागि सबै दल एकजुट हुनुपर्ने बताएका छन्।

नेकपा एमालेले आयोजना गरेको संविधान कार्यान्वयनका लागि जन परिचालन अभियान अन्तर्गतको सभामा नेता खनालले ऐतिहासिक परिवर्तन र संविधान जारी गर्ने अवस्थामा एकै स्थानमा रहेका प्रमुख राजनीतिक दल कार्यान्वयनमा पनि एकजुट हुनुपर्ने बताए।

विभिन्‍न बहानामा राष्ट्रियतालाई कमजोर पार्ने खेल खेलिएको उनले बताए। ‘जसरी देशी- विदेशी शक्तिको इसारामा संविधान बन्न नदिने खेल हुदाँ प्रमुख दल एक ठाउँमा उभिए, उसैगरी कार्यन्वयनका लागि पनि एकजुट हुनुपर्छ।’ खनालले संविधान कार्यान्वयनको खुड्किलोको रुपमा रहेको निर्वाचनलाई पर सार्ने खेल भएको आरोप लगाए। उनले निर्वाचन गर्न नसक्ने भए सत्ता छाड्न सत्तारुढ दललाई चुनौती दिए।

एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले जनताका प्रतिनिधिले जारी गरेको संविधान सबै समुदाय क्षेत्र र वर्गलाई स्विकार्य भएको बताए। ‘मधेशी दललले पनि नयाँ संविधानको प्रक्रियामा आएर प्रधानमन्त्री चयनको मतदानमा सहभागिता जनाएका छन्,’ नेम्वाङले भने।

एमाले केन्द्रिय सदस्य रामकुमारी झाँक्रीले नेपालको विखण्डनका निम्ति भारतले विभिन्न बखेडा झिकेर आन्तरिक कलह सृजना गरेको आरोप लगाइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार