गजुरमुखी धाम र कुरुम्बा सेमीफाइनल प्रवेश

नयाँ बुलन्द

गजुरमुखी : इलामको जगुरमुखी-९ तोभाङ्गमा जारी ‘हर्कबहादुर देवान स्मृति नकआउट फूटबल प्रतियोगिता’ मा गजुरमुखी धाम र कोसिस क्लब कुरुम्बा सेमीफाइनल प्रवेश गरेका छन् ।

बुधबार गजुरमुखी-९ बी सँग भएको तेस्रो क्वाटरफाइनलमा १-० को कठिन जित निकाल्दै गजुरमुखी धाम विजेता बन्यो । मनिस थापा मगरले खेलको ५२ औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बनेको थियो ।

त्यस्तै चौथो तथा अन्तिम क्वाटर फाइनलमा गजुरमुखी-९ सी लाई टाइब्रेकरमा ४-२ को सहज जित दर्ता गर्दै कोसिस क्लब कुरुम्बाले सेमीफाइनलको यात्रा तय गरेको हो । निर्धारित समय र अतिरीक्त समयमा दुवै टिमबाट बराबरी गोल भई खेल सम्पन्न भएपछि टाइब्रेकरमा विजेता निर्धारण गरिएको थियो ।

टाइब्रेकरमा कुरुम्बाका तर्फबाट सन्त लावती, राहुल लावती, जीतेन राई र रन्दिप लावतीले गोल गरे । उता गजुरमुखीबाट भने सन्तोष रम्तेल (माइला) र पिकेश लोक्तामले मात्र गोल गर्न सके । झोम लिम्बू र दर्शन गुरुङको बल क्रस बाहिर गएको थियो ।

प्रतियोगिताको सेमीफाइनल बिहीबारदेखि सुरु हुँदैछ । पहिलो सेमीफाइलनमा रवि फूटबल क्लब र महमाई-७ बीच हुने आयोजकले जनाएको छ ।

भुलभुले सामुदायिक विकास केन्द्रको आयोजनामा जारी प्रतियोगितामा इलाम र पाँचथरका विभिन्न २२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद ४० हजार र उपविजेता टिमले २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

स्थानीय वरभञ्ज्याङ्ग आधारभूत विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको फाइनल आगामी १ फागुनमा हुनेछ  ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार