नयाँ बुलन्द
गजुरमुखी : इलामको जगुरमुखी-९ तोभाङ्गमा जारी ‘हर्कबहादुर देवान स्मृति नकआउट फूटबल प्रतियोगिता’ मा रवि फूटबल क्लब र युवाइसी साङ्गरुम्बा विजयी बनेका छन् ।
मंगलबार भएको पहिलो खेलमा पानीटार फूटबल क्लबलाई ३-१ ले पाखा लगाउँदै रविले सहज जित दर्ता गर्यो । जितका लागि रविका मेहेन्द्र खवासले २२ र ४८ औं मिनेटमा दुई तथा सनिल राईले ५६ औं मिनेटमा एक गोल गरेका थिए । पानीटारका तर्फबाट भने एकमात्र सान्तवना गोल मनीराज राउतले ५८ औं मिनेटमा फर्काउन सफल भएका थिए ।
दोस्रो खेलमा इभाङ्ग-९ लाई ३-२ को कठिन जित दर्ता गर्दै साङ्गरुम्बा विजेता बन्यो । जितका लागि साङ्गरुम्बाका सुमन राईले ७ र ३९ औं मिनेटमा तथा दिपेश लिम्बूले ५८ औं मिनेटमा गोल गरेका थिए । उता इभाङ्गका तर्फबाट नरेश लिम्बूले ५० र राजेन्द्र लिम्बूले ५९ औ मिनेटमा एक एक गोल फर्काएका थिए ।
बुधबारदेखि सेमीफाइनल चरणका खेल सुरु हुनेछन् । पहिलो सेमीफाइनलमा गजुरमुखी धाम र गजुरमुखी-९ बी तथा दोस्रोमा गजुरमुखी-९ सी र कोसिस कुरुम्बाबीच खेल हुनेछ ।
भुलभुले सामुदायिक विकास केन्द्रको आयोजनामा जारी प्रतियोगितामा इलाम र पाँचथरका विभिन्न २२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद ४० हजार र उपविजेता टिमले २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
स्थानीय वरभञ्ज्याङ्ग आधारभूत विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको फाइनल आगामी १ फागुनमा हुनेछ ।