पवित्रहाङ्मा गोल्डकप : नालिफुङ्वा सेमीफाइनल प्रवेश

बल अगाडि बढाउँदै नालिफुङवाकी खेलाडी (नीलो जर्सी) । तस्विर : धड्कन लिम्बू

सुमिना वनेम

माङसेबुङ : साविक विजेता नालिफुङ्वा युथ क्लब मोरङ इलामको बाँझोस्थित माङ्सेबुङमा जारी पवित्रहाङ्मा महिला गोल्डकप फूटबल प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ ।

मंगलबार भएको तेस्रो क्वाटर फाइनलमा शिवसतासी स्पर्टिङ क्लब झिलझिले झापालाई ३-० को सहज जित दर्ता गर्दै नालिफुङवा सेमीफाइनल प्रवेश गरेको हो । जितका लागि नालिफुङवाकी रेखा पौड्यालले २ र सावित्रा मगरले १ गोल गरिन् ।

पहिलो हाफसम्म बराबरी खेलेको नालीफुङ्वाले दोस्रो हाफपछि चामत्कारिक खेल प्रदर्शन गरेको थियो । उसले विपक्षीलाई लागतार निसाना बनायो । आक्रामक शैलीमा उत्रिएको नालीफुङ्वाले दोस्रो हाफको आठौं अर्थात खेलको ४३ ‍औं मिनेटमा अग्रता लियो । नालिफुङवाकी स्ट्राइकर सविना मगरले प्रहार गरेको बलले सोझै जाली चुमेको थियो ।

१३ मिनेटपछि ५६ औं मिनेटमा नालीफुङवाकै स्ट्राइकर रेखा पौड्यालले गोल गर्दै अग्रता दोब्बर बनाईन् । त्यसको ४ मिनेट पनि बित्न नपाउँदै ६० औं मिनेटमा पुन: पौड्यालले नै दोस्रो व्यक्तिगत गोल गरी टिमलाई ३-० को जित निश्चित गरेकी थिइन् ।

उता शिवसतासीले दोस्रो हाफमा रक्षात्मक खल्नु परेको थियो । विपक्षीको लगातारको आक्रमण समाना गर्न हम्मेहम्मे परेको थियो । उसले गोल गर्ने केही अवसर पाए पनि सदुपयोग गर्न भने सकेन । फलस्वरुप पहिलो चरणबाटै बाहिरिन बाध्य बन्यो ।

खेलको म्यान अफ द म्याच विजेता नालीफुङवाकी रेखा पौड्याल घोषित भईन् ।

बल नियन्त्रण गर्ने कोसिस गर्दै नालिफुङवाकी खेलाडी (नीलो जर्सी) । तस्विर : धड्कन लिम्बू

प्रतियोगिता अन्तरगत बुधबार अन्तिम क्वाटर फाइनल अन्तरगत  पारीजात महिला फूटबल क्लब झापा र खदम युथ क्लब मोरङबीच प्रतिष्पर्धा हुने आयोज समितिका सचिव मनकुमार आङबुहाङले जानकारी दिए । यसअघिको खेलबाट माङसेबुङ युथ क्लब र न्युस्टार किर्तिपुर मोरङ सेमीफाईनलमा प्रवेश गरिसकेका छन् ।

फूटबलको विजेताले नगद ६१ हजार ६१ रुपैयाँ र उपविजेता टिमले नगद ३५ हजार ६१ रुपैयाँसहित ट्रफिमेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरलाई जनही तीन हजार पाँच सय ६१ रुपैयाँ प्राप्त गर्नेछन् ।

किरात धर्मगुरुआमा पवित्रहाङ्मा साँवा लिङदेनको ६१ औं जन्मोत्सवको अवसरमा किरात साम्यो हक्चात यक्चुम बाँझो इलामको आयोजनामा जारी प्रतियोगितामा इलामझापापाँचथरताप्लेजुङ्ग र मोरङ्गका ८ महिला टीमले सहभागीता जनाएका छन् । प्रतियोगितको फाइनल आगामी २ फागुनमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार