झापा गोल्डकप : मनाङले चुम्यो उपाधि

नयाँ बुलन्द

झापा : झापा विर्तामोडमा सञ्चालित दोस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्याङ्दी क्लबले जितेको छ ।

डोमालाल राजवंशी रङ्गशालामा सोमबार सम्पन्न फाइनलमा आयोजक झापा-११ लाई १-० गोलको झिनो अन्तरले पराजित गर्दै मनाङले उपाधि चुमेको हो । जितसँगै मनाङले नगद सात लाख रुपैयाँ हात पार्‍यो । उपविजेता झापा-११ ले तीन लाख ५० हजार रुपैयाँमै चित्त बुझाउनु पर्‍यो । झापा-११ अघिल्लो बर्ष पनि उपविजेता बनेको थियो ।

मध्यान्तरसम्म गोलरहित बराबरी भएको थियो । प्रतियोगिताकै सशक्त टोली मानिएको मनाङ खेलको सुरुवाती १५ मिनेट निकै आक्रमक बन्यो । खेलको १५ मिनेटपछि लयमा फर्किएको घरेलु टोली झापाले त्यसपछि मध्यान्तरअघिसम्म मनाङलाई दवावमा राख्यो ।

मध्यान्तरपछि दुबै टोली आक्रामक बन्यो । खेलको ६३ औँ मिनेटमा मनाङका ओलावालेले गोल गरे । त्यो गोल नै उपाधिका लागि निर्णायक बन्यो । निराजन मल्लले प्रहार गरेको बल झापाका गोलरक्षकबाट फुत्किएपछि ओलावालेले जाली चुमाएका थिए ।

खेलमा रेफ्रि लव खत्रीले मनाङका कप्तान सुजल श्रेष्ठ, ओलावाले र सुशील लामालाई पहेँलो कार्ड देखाए । सेमिफाइनलमा मनाङले डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई घर फर्काउँदै फाइनलमा आयोजक टोली झापा ११ सँगको भेट पक्का गरेको थियो । हिमालयन शेर्पालाई पन्छाउँदै घरेलु टोली झापा-११ अन्तिम फाइनल पुगेको थियो ।

फाइनल खेलको खेलको म्यान अफ द म्याच मनाङका निराजन मल्ल घोषित भए । उनलाई म्याप्स हाउजिङ प्रालिका तर्फबाट अञ्जनी सङ्ग्रौलाले नगद ७ हजार रुपैयाँ प्रदान गरे । प्लेयर अफ द टुर्नामेन्ट मनाङका रोहित चन्द घोषित भए । उनले सयपत्री ट्रेड लिङ्क बिर्तामोडका तर्फबाट यामाहाको मोटरसाइकल प्राप्त गरे । हाइ स्कोरर बनेका झापाका कर्ण लिम्बू र देवेन्द्र तामाङले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट डिफेन्डर झापा ११ का देवेन्द्र तामाङ घोषित भए । उनलाई हिकोला हेरिटेजका देविभक्त श्रेष्ठले नगद १५ हजार प्रदान गरे ।

उत्कृष्ट मिडफिल्डर झापा ११ का रञ्जित श्रेष्ठ घोषित भए । उनलाई महेन्द्र गुजराज ट्रयाक्टरका तर्फबाट नगद १५ हजार प्रदान गरियो । उत्कृष्ट गोलरक्षक झापा ११ का एलन न्यौपाने घोषित भए । उनलाई पावर टेक मम्प्युटरका तर्फबाट १५ हजार ६ सय बराबरको एन्ड्रोइड मोवाइल प्रदान गरियो । उत्कृष्ट प्रशिक्षक मनाङका छिरिङ लोप्साङ गुरुङ बने ।

मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगितामा एक विदेशीसहित १० टिमको सहभागिता थियो । आयोजक रमपम झापा ११, मनाङ मस्र्याङ्दी क्लब, विभागीय टोलीहरु नेपाल पुलिस क्लब, एपीएफ र त्रिभुवन आर्मी, न्युरोड टिम, हिमालयन शेर्पा क्लब, रुपन्देही ११ फुटबल क्लब, सुदुरपश्चिम फुटवल क्लब र भारतको शेर फुटबल क्लबले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार