न्युस्टार मोरङ र माङ्मालुङ इलाम भिड्ने

सुमिना वनेम

माङसेबुङ : इलामको बाँझोस्थित माङ्सेबुङमा जारी पवित्रहाङ्मा महिला गोल्डकप फूटबलमा सोमाबार न्युस्टार किर्तीपुर मोरङ र माङमालुङ गर्ल्स स्टार इलाम भिड्दैछन् । स्थानीय  माङसेबुङ खेलमैदानमा दिउँसो २ बजे प्रतियोगिता हुँदैछ ।

यसअघि आइतबार भएको उद्घाटन खेलमा माङसेबुङ युथ क्लब बाँझो विजयी बन्यो । बाँझोले गोर्खा स्पोर्टीङ क्लब दमक झापालाई १०-० पराजित गरेको थियो ।जितका लागि माङसेबुङकी शिवानी शर्माले ५, सुस्मिता तामाङले ३ र रीन्कु राईले  २ गोल गरेकी थिइन् ।

फूटबलको विजेताले नगद ६१ हजार ६१ रुपैयाँ र उपविजेता टिमले नगद ३५ हजार ६१ रुपैयाँसहित ट्रफिमेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरलाई जनही तीन हजार पाँच सय ६१ रुपैयाँ प्राप्त गर्नेछन् ।

किरात धर्मगुरुआमा पवित्रहाङ्मा साँवा लिङदेनको ६१ औं जन्मोत्सवको अवसरमा किरात साम्यो हक्चात यक्चुम बाँझो इलामको आयोजनामा जारी प्रतियोगितामा इलामझापापाँचथरताप्लेजुङ्ग र मोरङ्गका ८ महिला टीमले सहभागीता जनाएका छन् । प्रतियोगितको फाइनल आगामी २ फागुनमा हुनेछ ।

त्यस्तै गोल्डकपमा फूटबलका साथै अन्य खेलहरु पनि हुनेछन् । अन्य खेलहरुमा म्युजिकल चियर, लठ्ठा तान्‍ने र हाँडी फोड्ने खेलहरु सञ्चालन हुनेछन् । म्युजिकल चियरमा प्रथम हुनेले नगद दुई हजार ६१, द्वितीय हुनेले नगद एक हजार पाँच सय ६१ र तृतीय हुनेले एक हजार ६१ रुपैयाँ, मेडल र प्रमाणपत्र पाउँनेछन् ।

लठ्ठा तान्‍नेमा प्रथम हुनेले नगद पाँच हजार ६१ र द्वितीय हुनेले नगद तीन हजार ६१ रुपैयाँ, मेडल र प्रमाणपत्र पाउँनेछन् । त्यस्तै हाँडी फोड्नेमा प्रथम हुनेले नगद एक हजार पाँच सय ६१ रुपैयाँ साथमा मेडल र प्रमाणपत्र पाउँनेछन् । अन्य खेलहरु २ फागुनमा फूटबलको फाइनल भन्दा अगाडि सञ्चालन गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार