काठमाडौं : नेपाल सरकारले निर्वाचन आयोगलाई स्थानीय निर्वाचनको तयारी गर्न पत्राचार गरेलगत्तै आयोगको आइतबार बसेको बैठकले स्थानीय निर्वाचन दुई चरणमा गर्ने प्रस्ताव सरकारलाई पठाएको छ। आयोगले आगामी २०७४ जेठ १ मा पहिलो र जेठ २० गतेदेखि दोस्रो चरणको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको हो।
आयोगले नेपाल सरकारले निर्वाचनको तयारी गर्न आयोगलाई पत्राचार गरे पनि निर्वाचनको मिति भने तोकेको छैन। आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले सरकारले मिति नतोकेपछि केही विषयमा थप स्पष्टताका लागि सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
आयोगले स्थानीय पुनःसंरचना आयोगका औपचारिक प्रतिवेदन, निर्वाचनका लागि आवश्यक पर्ने बजेटलगायत विषयमा पनि सरकारलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ। आयोगले दुई चरणमा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता, प्रचार प्रसारको समय, मतदान गर्ने मिति र समय, मतगणना लगायत विषयलाई तालिकीकरण गर्दै सरकारलाई जानकारी गराउने भएको छ।
सरकारले निर्वाचनको सुरुको मिति घोषणा गर्ने हो र निर्वाचनका बाँकी प्रक्रिया आयोग आफैँले अगाडि बढाउने हो। आयोगको यस प्रस्तावले राजनीतिक दलहरूलाई निर्वाचनको तयारीलाई अगाडि बढाउन थप दबाब पुग्ने विज्ञहरूको भनाइ छ।