नयाँ बुलन्द
झापा : उर्जामन्त्री जनार्दन शर्माले अहिलेको लोड सेडिङमुक्त गर्ने अभियानले मात्र नेपाल उज्यालो नहुने बताएका छन् ।
झापाको विर्तामोडमा तीन दर्जन संस्थाहरुले गरेको अभिनन्दन गरेको कार्यक्रममा मन्त्री शर्माले देशका अधिकांश भागमा अहिले पनि विद्युत आपूर्तिको पूर्वाधार नपुगेको हुनाले अझ धेरै काम गर्न बाँकी रहेको बताए । शर्माले भने, ‘अझै पनि देशका करीब ४० प्रतिशत स्थानमा विजुली पुग्न सकेको छैन । हामीले त्यतातिर पनि ध्यान दिनुपर्छ ।’
चारपानेको टायम स्क्वायर पार्टी प्यालेसमा आयोजित सभामा मन्त्री शर्मा लगायत उर्जा मन्त्रालयका सचिव अनुप उपाध्याय तथा नेपाल विद्युल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अभिनन्दन गरिएको थियो । अभिनन्दन पछि उर्जा मन्त्रालयका सचिव उपाध्यायले भने, ‘विजुली नदिँदा पनि ग्राहकले खुरु खुरु पैसा तिर्नु, विजुली पनि नदिनु जरिमाना पनि तिर्नु सर्वसाधारणलाई अन्याय भइरहेको थियो ।’
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्नका लागि विद्युत वितरणको व्यवस्थापन र आयात प्रक्रियाले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, ‘हामीले हाम्रो जिम्मेवारी पूरा गरेका हौं । ठूलो काम गरेका होइनौं । तपाईंहरुले देखाएको यो मायाले थप काम गर्न हौसला थपेको छ ।’
उनले लोड सेडिङ अन्त्य गर्ने काममा प्राधिकरणका कर्मचारी ठूलो सहयोग गरेको बताए ।