माङ्सेबुङमा पवित्रहाङ्मा गोल्डकप सुरु, माङसेबुङ विजयी

सुमिना वनेम

माङसेबुङ :  इलामको बाँझोस्थित माङ्सेबुङमा पवित्रहाङ्मा महिला गोल्डकपको सातौं संस्करण  खेलकुद प्रतियोगिता सुरु भएको छ । गोल्डकप अन्तरगत आइतबारदेखि फूटबल प्रतियोगिता सुरु भएको हो ।

किरात धर्मगुरुआमा पवित्रहाङ्मा साँवा लिङदेनको ६१ औं जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगितामा माङसेबुङ युथ क्लब बाँझोले विजयी सुरुआत गरेको छ । गोर्खा स्पोर्टीङ क्लब दमक झापालाई १०-० को लज्जास्पद हार चखाउँदै माङसेबुङले सेमीफाइलनको यात्रा पक्का गरेको हो ।

जितका लागि माङसेबुङकी शिवानी शर्मा एक्लैले ५ गोल गरिन् । उनले मध्यान्तर अघि १२ र ३० ‍औं मिनेमा गोल गरिन् । मध्यान्तर पछिको खेलमा ३८, ४० र ३९ ‍औं मिनेटमा लगातार गोल गरेकी थिईन् । त्यस्तै माङसेबुङकै सुस्मिता तामाङले ३६, ३९ र ६९ औं मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरिन् । साथै रीन्कु राईले २८ र रीमा घिसिङले ३५ ‍औं मिनेटमा एक एक गोल गरेकी थिइन् ।

उता गोर्खा स्पोर्टिङले भने खेल अवधिभर कुनै गोल गर्न सकेन । गोर्खाका खेलाडीलाई विपक्षीको पोलमा पुग्न समेत हम्मेहम्मे परेको थियो । मध्यान्त अघि ४ गोल खाएको गोर्खा स्पोर्टिङले मध्यान्तर पछि पनि खेल सुधार्न सकेन । विपक्षीको निरन्तर दवावमा परेको गोर्खाका खेलाडीहले रक्षात्मक समेत खेल्न सकेन । परिणामस्वरुप १० गोलको लज्जास्पद हारसँगै बाहिन बाध्य भएको थियो ।

प्रतियोगिता अन्तरगत सोमाबार न्युस्टार किर्तीपुर मोरङ र माङमालुङ गर्ल्स स्टार इलामबीच प्रतिष्पर्धा हुने आयोजक समितिका सचिव मनकुमार आङबुहाङले जानकारी दिए ।

फूटबलको विजेताले नगद ६१ हजार ६१ रुपैयाँ र उपविजेता टिमले नगद ३५ हजार ६१ रुपैयाँसहित ट्रफिमेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरलाई जनही तीन हजार पाँच सय ६१ रुपैयाँ प्रदान गरिनेछ।किरात साम्यो हक्चात यक्चुम बाँझो इलामको आयोजनामा सुरु भएको प्रतियोगितामा इलामझापापाँचथरताप्लेजुङ्ग र मोरङ्गका ८ महिला टीमले सहभागीता जनाएका छन् ।

प्रतियोगितको फाइनल आगामी २ फागुनमा हुनेछ ।

त्यस्तै गोल्डकपमा फूटबलका साथै अन्य खेलहरु पनि हुनेछन् । अन्य खेलहरुमा म्युजिकल चियर, लठ्ठा तान्‍ने र हाँडी फोड्ने खेलहरु सञ्चालन हुनेछन् । म्युजिकल चियरमा प्रथम हुनेले नगद दुई हजार ६१, द्वितीय हुनेले नगद एक हजार पाँच सय ६१ र तृतीय हुनेले एक हजार ६१ रुपैयाँ, मेडल र प्रमाणपत्र पाउँनेछन् ।

लठ्ठा तान्‍नेमा प्रथम हुनेले नगद पाँच हजार ६१ र द्वितीय हुनेले नगद तीन हजार ६१ रुपैयाँ, मेडल र प्रमाणपत्र पाउँनेछन् । त्यस्तै हाँडी फोड्नेमा प्रथम हुनेले नगद एक हजार पाँच सय ६१ रुपैयाँ साथमा मेडल र प्रमाणपत्र पाउँनेछन् । अन्य खेलहरु २ फागुनमा फूटबलको फाइनल भन्दा अगाडि सञ्चालन गरिने आयोजकले जनाएको छ ।

माङसेबुङमा २०६७ देखि पवित्रहाङ्मा महिला गोल्डकप सञ्चालन हुँदै आएको छ । यस वर्षको प्रतियोगितामा करिब सात लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार