१५ वर्षमा देशले कोल्टे फेर्छ : उर्जा मन्त्री शर्मा

नयाँ बुलन्द

इलाम : ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर ले ऊर्जा क्षेत्रमा लगानी बढाई औद्योगिकरण मार्फत १५ वर्ष भित्रमा जनताले विकासको अनुभुति हुने गरि सरकारले काम तीव्रताका साथ अघि बढाइरहेको बताएका छन ।

पूर्वी नेपालमा निर्माण हुँदै आएका विद्युत आयोजना र प्रशारण लाइनको निरिक्षणपछि इलाममा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । मन्त्री शर्माले सरकार जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताउँदै सरकार भित्रकै मन्त्रालयहरुको समन्वय नहुँदा एउटा फाइल ९ महिनासम्म अल्झिने गरेकाले विकासको गति सुस्त भएपछि आफुले हस्तक्षेपकारी तरिकाले काम गर्दै आएको बताए ।

ऊर्जा मन्त्रालयले संचालन गरेका जिल्लास्तरका योजना असार मसान्त भित्र सक्ने योजना मन्त्रालयको रहेको बताउँदै मन्त्री शर्माले भने साना आयोजनाहरु चालु आर्थिक वर्षको असार मसान्तमा सक्नुपर्ने छ तोकिएको समयमा काम नसके सम्बन्धित योजना प्रमुखलाई कारबाही गरिनेछ ।

जग्गा मुआब्जाका कारण समयमा काम हुन नसकेको काबेली कोरिडोर विद्युत प्रशारण लाइन आगामी जेठ भित्र सम्पन्न हुने गरी निर्देशन दिएको मन्त्री शर्माले बताए ।

जनताकै लगानीमा जलविद्युत् उत्पादन गर्न ऊर्जा मन्त्रालयले नेपालको पानी जनताको लगानी अभियान सञ्चालन गरिएको उल्लेख गर्दै सानाठुला जलविद्युत परियोजनाहरुको निर्माण जनताकै लगानीमा सम्भव हुने भएकाले यस्तो अभियान ऊर्जा मन्त्रालयले सञ्चालन गरिएको बताए ।

उनले जनतालाई जलविद्युत् उत्पादनका लागि लगानीमा उत्साहित तुल्याउन ऊर्जा मन्त्रालयले वेबसाइटमार्फत लगानी प्रतिबद्धता पनि सार्वजनिक गर्न लगाएको बताए ।

नेपाली जनतासँग लगानीको क्षेत्र नभएकाले अव उर्जा क्षेत्रमा लगानी गरी आगामी १० बर्षमा देशले २० हजार मेगावट विजुली उत्पादन गरी औधोगिक क्षेत्रको स्थापना गरेर देशभित्रै सदुपयोग हुने बताए ।

मन्त्री शर्माले ७ सय ६२ मेगावाटको तमोर जलशाययुक्त जलविद्युत परियोजनालाई सरकारले जनतासँग मिलेर स्वदेशी लगानीमै बनाउने बताए । ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङसहित पूर्वी नेपालको भ्रमणका निस्किएका मन्त्री शर्माले ताप्लेजुङ, पाँचथर, इलामका विद्युत आयोजना र प्रशारण लाइनको निरिक्षण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार