राष्ट्रपति रनिङशिल्ड फागुन १९, २० र २१ गते हुने

अतित योङहाङ

इलाम :  यसवर्षको राष्ट्रपति रनिङसिल्ड फागुन तेस्रो साता हुने भएको छ । अघिल्लो वर्ष फाल्गुन ३ र ४ मा सम्पन्न राष्ट्रपति रनिङसिल्ड यसपटक भने फागुन १९, २० र २१ गते हुने भएको हो ।

प्रतियोगितामा खेलाडीहरुलार्इ सहभागि गराउने उद्देश्यले जिल्ला खेलकुद विकास समितिले तयारी सुरु गरेको छ । यसपटक छनौटका खेलहरु फाल्गुन ११ गतेबाट सुरु हुने भएको छ । जिल्लास्तरीय प्रतियोगितामा सहभागि हुन निर्वाचन क्षेत्रस्तरीय प्रतियोगिताबाट विजयी हुनुपर्दछ ।

छनोट चरणको प्रतियोगिताहरुमा क्षेत्र नम्बर १ को खेल करफोक विद्यामन्दिर माविका खेलमैदानमा फाल्गुन ११ र १२ गते हुने भएको छ । अघिल्लो वर्ष पनि सोही स्थानमा भएको थियो ।

क्षेत्र नम्बर २ को प्रतियोगिता भने यस वर्ष भानुभक्त मावि मंगलबारेमा फाल्गुन ११ र १२ गते नै हुने भएको छ । अघिल्लो वर्ष भने सिंहदेवि उच्च मावि एकतप्पामा भएको थियो । क्षेत्र नम्बर ३ को प्रतियोगिता फाल्गुन १७ र १८ र जिल्ला स्तरीय प्रतियोगिता फाल्गुन १९, २० र २१ यसपटक नेपालटार मावि साखेजुङमा हुने भएको छ । अघिल्लो वर्ष क्षेत्र नम्बर ३ को खेल र जिल्ला स्तरीय प्रतियोगिता सदरमुकामस्थित ठूलो टुँडीखेलमा सञ्चालन गरिएको थियो ।

छनोट खेलहरुमा भलिबल, एथ्लेटिक्स र कबड्डी खेलमा खेलाडीहरु प्रतिस्पर्धा गर्नेछन् । त्यसका लागि छनोट खेलमा भाग लिन चाहने खेलाडीहरुले आफ्नो निर्वाचन क्षेत्रमा फारम दर्ता गराउनुपर्ने छ । छनोट खेलहरुमा विजयी हुने खेलाडीहरु स्वत: जिल्लास्तरीय प्रतियोगितामा सहभागि हुन पाउनेछन् ।

मार्शलआर्ट अन्तर्गतका खेलहरु तेक्वान्दो, कराँते र उसुमा भने खेलाडीहरुले सोझै जिल्लास्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

निर्वाचन क्षेत्र स्तरीय प्रतियोगितालार्इ व्यवस्थित गराउनका लागि तीनै निर्वाचन क्षेत्रमा एक/एक जना संयोजक जिल्ला खेलकुद विकास समितिले तोकेको छ भने तीन/तीन जना सदस्य मनोनयन गरिएको छ ।

क्षेत्र नम्बर १ को लागि समितिका एथ्लेटिक्स सहायक प्रशिक्षक रोहित भट्टरार्इ रहेका छन् । सदस्यहरुमा जिल्ला शिक्षा कार्यालय इलामका विद्यालय निरीक्षक द्रोणप्रसाद पाख्रेल, श्रोत व्यक्ति जय भण्डारी र इलाका प्रहरी कार्यालय पशुपतिनगर इलामका प्रहरी निरीक्षक रहेका छन् ।

क्षेत्र नम्बर २ को लागि संयोजकमा समितिका सदस्य टंक खनाल रहेका छन् । सदस्यहरुमा जिल्ला शिक्षा कार्यालय इलामका विद्यालय निरीक्षक सुनिता योङहाङ, श्रोत व्यक्ति उपेन्द्र सापकोटा र इलाका प्रहरी कार्यालय मंगलबारे इलामका प्रहरी निरीक्षक रहेका छन् ।

क्षेत्र नम्बर ३ को लागि  संयोजकमा समितिका सदस्य कुमारी रार्इ रहेका छन् । सदस्यहरुमा जिल्ला शिक्षा कार्यालय इलामका विद्यालय निरीक्षक सुनिता योङहाङ, श्रोत व्यक्ति ज्ञानु कट्टेल र जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक रहेका छन् ।

यसभन्दा बाहेक सहभागि हुने विद्यालयहरुमध्येबाट समितिले मनोनयन गरेका २ महिला सहित ६ जना शिक्षक सदस्य प्रत्येक निर्वाचन क्षेत्रमा रहनेछन् । त्यस्तै तीनै निर्वाचन क्षेत्रका लागि एक आयोजक विद्यालयका प्रधानाध्यापक सदस्य सचिव रहने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जीतबहादुर रार्इले जानकारी दिए ।

निर्वाचन क्षेत्रस्तरीय र जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सञ्चालनका लागि बाह्र लाख ६३ हजार सात सय असी रुपैयाँ लाग्ने अनुमान गरिएको छ । तर खेलकुद मन्त्रालयबाट ६ लाख रुपैँया मात्र बजेट विनियोजन भएको छ । थप बजेट मन्त्रालयबाट प्राप्त भए इलाममा फुटबल र क्रिकेट पनि सञ्चालन गर्न सकिने कुरा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख अमृता घिमिरेले जानकारी दिईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार