नयाँ बुलन्द
झापा : झापाको विर्तामोडमा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक रमपम झापा–११ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।
डोमालाल राजवंशी रङ्गशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई ४–० गोल अन्तरले पाखा लगाउँदै झापाले अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेको हो । फाइनल प्रवेशसँगै झापाले कम्तिमा नगद तीन लाख ५० हजार रुपैयाँ सुरक्षित गरेको छ ।
खेलको पहिलो हाफमा झापाले १–० को अग्रता लिएको थियो । खेलको २८ औँ मिनेटमा झापाका स्ट्रइकर कर्ण लिम्बूले गोलको खाता खोलेका हुन् । रजिन धिमालको लामो पासलाई कर्णले हेडमार्फत उत्कृष्ट गोल गरे ।
दोस्रो हाफमा झापाले थप ३ गोल गर्यो । कर्णले नै व्यक्तिगत दोस्रो गोल गर्दै झापालाई २–० को अग्रता दिलाए । खेलको ७९औँ मिनेटमा डी–बक्सभित्र बुद्ध चेम्जोङले मिलाइदिएको पासलाई सदुपयोग गर्दै कर्णले बललाई जाली चुमाएका हुन् । झापाका लागि तेस्रो गोल बुद्ध चेम्जोङले गरे । खेलको ८७औँ मिनेटमा दिलेन लोक्तामको पासमा उनले झापालाई ३–० को अग्रता दिलाएका हुन् । ९०औँ मिनेटमा झापाका खमिर गिल्सन कन्दङ्बाले गोल गर्दै टिमलाई ४–० को जीत सुनिश्चत गरे ।
शुक्रबारको खेलको म्यान अफ द म्याच झापा–११ बाट २ गोल गर्ने कर्ण लिम्बू घोषित भए । उनलाई म्याप्स हाउजिङ प्रालिका तर्फबाट अञ्जनी सङ्ग्रौलाले नगद सात हजार रुपैयाँ प्रदान गरे । त्यसैगरी बिर्तामोडस्थित एक्सपर्ट एजुकेशन एण्ड भीसा सर्भिसले लक्की ड्रमार्फत दर्शकमध्येका एक हरी मैनालीलाई एक्सपर्ट फ्यान अफ द डे घोषणा गर्दै नगद ५ हजार प्रदान गर्यो ।
प्रतियोगिता अन्तर्गत शनिबार हुने दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र मनाङ मस्र्याङदी क्लबबीच प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए ।
एक विदेशीसहित १० टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले नगद सात लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले नगद तीन लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।