नयाँ बुलन्द
इलाम : इलामको गजुरमुखीमा जारी हर्कबहादुर देवान स्मृति नकआउट फूटबल प्रतियोगितामा शुक्रबार पनि दुई खेलहरु सम्पन्न भएका छन् ।
शुक्रबारको खेलमा रवि फूटबल क्लब र इभाङ्ग-९ विजयी भई अघिल्लो चरणमा प्रवेश गरेका छन् । जेवाईसी इभाङ्ग-८ सँग भएको पहिलो खेलमा ७-१ गोलको फराकिलो अन्तरले पाखा लगाउँदै रवि विजेता बन्यो ।
जितका लागि रविका मेहरमान खावास हिरो सावित भए । खवासले एकै खेलमा ६ गोल गरी प्रतियोगिताको हालसम्म सबैभन्दा बढी गोल गर्ने खेलाडीका रुपमा आफूलाई दर्ज गराए । उनले खेलको १३, २१, २९, ४१, ५२ र ५६ औं मिनेटमा गोल गरेका थिए । उता इभाङ्गका तर्फबाट भने ५८ औं मिनेटमा एकमात्र सान्तवना गोल दिवस काफ्लेले गरेका थिए ।
त्यस्तै दोस्रो खेलमा एफएफसी महमाई-८ लाई ३-० ले हराउँदै इभाङ्ग-९ विजेता बनेको हो । जितका लागि इभाङ्गका रोहित लिम्बूले २० र ४९ औं मनेटमा दुई गोल गरेका थिए भने महेन्द्र लिम्बूले ६१ औं मिनेटमा एक गोल गरेका थिए ।
प्रतियोगिता अन्तरगत शनिबार पनि दुई खेल हुनेछन् । शनिबारको पहिलो खेलमा अलस्टार ग्रुप साङ्गरुम्बा र गजुरमुखी-९ बी तथा दोस्रो खेलमा गजुरमुखी-१ र वरभञ्ज्याङ फूटबलक्लब धुसेनीबीच हुने आयोजकले जनाएको छ ।
भुलभुले सामुदायिक विकास केन्द्रको आयोजनामा जारी प्रतियोगितामा इलाम र पाँचथरका विभिन्न २२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद ४० हजार र उपविजेता टिमले २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
स्थानीय वरभञ्ज्याङ्ग आधारभूत विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको फाइनल आगामी १ फागुनमा हुनेछ ।