नयाँ बुलन्द
इलाम : इलाममा विभिन्न १७ वटा राजनीतिक दलले दल दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार केेही नयाँ सहित १७ दलले दल दर्ता गराएका हुन् ।
यसरी दल दर्ता गर्ने दलहरुमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम नेपाल, नयाँशक्ति पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनप्रजातान्त्रिक पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, खम्वुवान राष्ट्रिय पार्टी, मधेशी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक), मंगोल नेशनल अर्गनाइजेशन, नेपाल कम्युनिष्ट पार्टी माले (जनसमाजवादी), नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, युनाइटेड ग्रीन अर्गनाइजेशन, नेकपा माक्र्सवादी लेनिनवादी, नेपाल कम्प्युनिष्ट पार्टी रहेका छन् ।
सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला जिल्लामा नयाँशक्ति पार्टी नेपाल, युनाइटेड ग्रीन अर्गनाईजेशन, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी नयाँ पार्टीको रूपमा दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रेम काफ्लेले जानकारी दिए ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा अधिकांश दलको जमानत जफत भएको थियो । दोस्रो संविधानसभाको निर्वाचनमा इलाम क्षेत्र नं. १ र क्षेत्र नं. २ बाट नेकपा एमाले र क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसले प्रत्यक्षतर्फ विजयी हासिल गरेको थियो । निर्वाचन कार्यालयमा दर्ता भएका दलमध्ये आधा मात्रै सक्रिय रहेको पाइएको छ ।
सरकारले आउँदो जेठ पहिलो हप्तासम्ममा स्थानीय तहको निर्वाचन गर्ने तयारी गर्न थालेपछि इलाममा समेत दलहरुमा निर्वाचनप्रतिको चासो बढेर गएको छ ।