पानीटार र कोसिस क्लब विजयी

नयाँ बुलन्द

गजुरमुखी : पानीटार फूटबल क्लब र कोसिस फूटबल क्लब इलामको गजुरमुखीमा जारी हर्कबहादुर देवान स्मृति नकआउट फूटबल प्रतियोगितामा विजयी भएका छन् ।

बिहीबार सम्पन्न पहिलो खेलमा रेडस्टार क्लब इभाङ्गलाई २-१ को जित निकाल्दै पानीटार अघिल्लो चरणमा प्रवेश गरेको हो । जितका पानीटारका लागि दुवै गोल युवराज राईले गरेका थिए । उता रेडस्टारका तर्फबाट बालकृष्ण बस्नेतले एक गोल फर्काएका थिए ।

खेलको २९ ‍औं मिनेटमा पानीटारका युवराज राईले गोल गरी टिमलाई अग्रता दिलाए । त्यो अग्रता लामो समय टिकेन । ३६ ‍औं मिनेटमा रेडस्टारका बालकृष्ण बस्नेतले सानदार गोल गर्दै खेल बराबरीमा ल्याए । मध्यान्तरपछि ५१ औं मिनेटमा पुन: पानीटारका युवराज राईले दोस्रो गोल गर्दै टिमलाई अग्रता मात्र दिलाएनन् त्यो गोल नै जितका लागि नर्णायक बनेको थियो ।

त्यस्तै दोस्रो खेलमा बारुङ फूटबल क्लबलाई १-० को झिनो अन्तरले पराजित गर्दै कोसिस फूटबल क्लब कुरुम्बा विजेता बन्यो । कोसिसका राहुल लावतीले खेल सुरु भएको २ मिनेटमा नै गरेको गोल नै जितका लागि निर्णायक बनेको थियो । प्रतिष्पर्धात्मक खेलमा दुवै टिमबाट आक्रामक खेल प्रस्तुत भएको थियो ।

प्रतियोगिता अन्तरगत शुक्रबारको पहिलो खेल रवि फूटबल क्लब पाँचथर र जेवाईसी इभाङ्ग-८ तथा दोस्रो खेल इभाङ्ग-९ र महमाई-८ बीच हुने आयोजकले जनाएको छ ।

भुलभुले सामुदायिक विकास केन्द्रको आयोजनामा जारी प्रतियोगितामा पाँचथर र इलामका गरी २२ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेता टिमले नगद ४० हजार रुपैयाँ र उपविजेता टिमले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै उत्कृष्ठ खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिताको फाइनल आगामी फागुन १ गते हुनेछ । प्रतियोगिता जुरमुखी-९ तोभाङस्थित बरभञ्ज्याङ आभारभूत विद्यालयको खेलमैदानमा भईरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार