झापा गोल्डकपः मनाङ मर्स्याङ्दी सेमीफाइनल प्रवेश

नयाँ बुलन्द

झापा : मनाङ मर्स्याङ्दी क्लब झापाको विर्तामोडमा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा काठमाडौँको न्यू रोड टिम (एनआरटी) माथि ४-१ को सहज जीत हाँसिल गर्दै मनाङले सेमीफाइनलको यात्रा तय गरेको हो । मनाङले अब सेमीफाइनलमा शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नुपर्नेछ ।

मनाङले खेलको २५ औँ मिनेटमा गोलको खाता खोलेको हो । विदेशी खेलाडी ओलावालेको पासमा निराजन मल्लले गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाए । त्यसको २ मिनेटलगत्तै अर्थात खेलको २७औँ मिनेटमा मनाङका लागि दोस्रो गोल सुशील लामाले गरे ।

उनले ओलावालेकै पासमा गोल गर्दै अग्रता दोब्बर पारेका हुन् । ३४औँ मिनेटमा निराजन मल्लले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा मनाङको अग्रता ३–० पारे । सुशील लामाले डी एरियाभित्र मिलाइदिएको पास ओलावालेले छोडे पनि निराजनले आकर्षक ढङ्गले जाली चुमाए ।

खेलको ५९औँ मिनेटमा ओलावालेले गोल गर्दै ४–० को जीत सुनिश्चित गरे । विशाल राईको पासमा ओलावालेले शानदार गोल गरेका हुन् । बिहीबारको खेलको म्यान अफ द म्याच मनाङका खेलाडी रोहित चन्द घोषित भए । उनलाई म्याप्स हाउजिङ प्रालिका तर्फबाट अञ्जनी सङ्ग्रौलाले नगद ७ हजार रुपैयाँ प्रदान गरे ।

शुक्रबारको पहिलो सेमिफाइनल खेलमा आयोजक टोली झापा–११ र हिमालयन शेर्पा क्लब काठमाडौँबीच भिडन्त हुने आयोजकले जनाएको छ ।

एक विदेशीसहित १० टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले नगद सात लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले नगद तीन लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार