नयाँ बुलन्द
इभाङ्ग : इलामको इभाङ्गमा आयोजित दुई दिने महिला सशक्तिकरण तालिम सम्पन्न भएको छ ।
मानव अधिकार मञ्च नेपाल इलामको आयोजना तथा गाउँ विकास समितिको संयाेजनमा सञ्चालित तालिममा प्रत्येक वडाबाट २ जनाका दरले वडा नागरिक मञ्चले सिफारिस गरेका अगुवा महिला तथा गाविसमा क्रियाशील महिला संघसंस्थाका अगुवा गरी २५ जनाको सहभागिता रहेको थियो ।
तालिमका सहभागीहरुलाई मानव अधिकार मञ्च नेपाल इलामका सहजकर्ता योगराज सापकोटा, ठाकुर श्रेष्ठ र महिला र दलितको न्यायमा पहुँचका लागि साझा अभियान परियोजनाका संयोजक लक्ष्मी सुब्बाले सहजीकरण गरेका थिए । तालिममा महिला अधिकार, महिला सम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन, महिलाका क्षेत्रमा सरकारले दिने सेवासुविधा, महिलाको अवस्था विश्लेषण, आवधिक योजना तर्जुमा लगायतका विषयमा छलफल भएको थियो ।
मानव अधिकार मञ्च नेपाल इलामले सञ्चालन गरिरहेको ‘महिला र दलितको न्यायमा पहुँचका लागि साझा अभियान’ कार्यक्रम अन्तरगत तालिम सञ्चालन गरिएको मानव अधिकार मञ्च नेपाल इलामले जनाएको छ ।
महिला र दलितको न्यायमा पहुँचका लागि साझा अभियान परियोजना मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा इलामका ३ गाविसमा इभाङ्ग, गोदक र सुलुबुङ्गमा सञ्चालनमा छन् ।