नयाँ बुलन्द
झापा : झापाको विर्तामोडमा जारी दोस्रो झापा गोल्डकपमा आयोजक रमपम झापा–११ सेमीफाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रङ्गशालामा बुधबार सम्पन्न खेलमा सुदुरपश्चिम–११ लाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै झापाले अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।
खेलको ३० औँ मिनेटमा नै झापा–११ का विदेशी खेलाडी मार्टिनको प्रहार सुदुरपश्चिमका खेलाडी राकेश हमाललाई टच हुँदै गोलमा परिणत भएको थियो । मध्यान्तर पछि पहिलो मिनेट मै पुन: झापाकै बुद्ध चेम्जोङले गोल गर्दै अग्रता २–० पु्र्याएका थिए । तेस्रो गोल ४८ औँ मिनेटमा पुन: विदेशी खेलाडी मार्टिनले गरे । त्यस्तै ८८ औँ मिनेटमा मार्टिनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४-० को जीत सुनिश्चित गरेका थिए ।
खेलको म्यान अफ द म्याच दुई गोल गर्ने झापा–११ का खेलाडी मार्टिन घोषित भए । उनले नगद सात हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अन्तरगत बिहीबारको खेल मनाङ मस्र्याङ्दी क्लब र न्यूरोड टिम एनआरटीबीच हुने आयोजक समितिले जनाएको छ ।