![]()
नयाँ बुलन्द
झापा : नवयुग श्रेष्ठ र भरत खवासको गोलसंगै विभागीय टोली त्रिभुवन आर्मी क्लब झापाको बिर्तामोडमा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
विर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा मङ्गलबार भएको खेलमा आर्मीले रुपन्देही–११ लाई २–० गोल अन्तरले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो ।
गोलरहित बराबरीमा सकिएको पहिलो हाप पछि मैदानमा आक्रामक बनेको आर्मीले दोस्रो हाफको १५ औँ मिनेटमा पहिलो गोल गर्यो । आर्मीका विमल पाण्डेको पासमा नवयुग श्रेष्ठले शानदार गोल गरे। दोस्रो गोल कप्तान भरत खवासले गरे। दोस्रो हाफको २८औं मिनेटमा टेकबहादुर बुढाथोकीको पासलाई भरतले जाली चुमाउँदै २–० को जीत सुनिश्चित गरे।
खेलको म्यान अफ द म्याच आर्मीका नवयुग श्रेष्ठ घोषित भए । उनलाई म्याक्स हाउजिङ प्रालिका तर्फबाट नगद ७ हजार रुपैयाँ तथा चाँदीको मेडल प्रदान गरियो । बुधबारको खेल आयोजक झापा–११ सुदूरपश्चिम फुटबल क्लबबीच हुने प्रचार समितिका संयोजक गजेन्द्र पौडेलले जानकारी दिए । यस अघिको उद्धघाटन खेलमा आयोजक झापा ११ ले भारतको शेर क्लवलाई ५-० को फराकिलो गोल अन्तरले हराउँदै अघिल्लो क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
























































