नमिन ढकाल
इलाम : गरुवा बहुमुखी क्याम्पस दानाबारीका क्याम्पस प्रमुख तारानाथ खनाललाई सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमबारे राम्रो जानकारी छैन। सरकारले स्वास्थ्य बीमा लागुु गरेको छ भन्ने सामान्य जानकारी भए पनि कति रकम तिर्दा कति मूल्य बराबरको सेवा सुुविधा उपलब्ध हुन्छ, कहाँबाट सेवा पाइन्छ, अनि स्वास्थ्य बीमा गर्दा कसलाई सम्पर्क गर्ने भन्ने कुरा आफूलाई थाहा नभएको उनी बताउँछन्।
यस्तै इरौटार-४ निवासी अन्तराष्ट्रिय कराते प्रशिक्षक योगेश चाम्लिङ्ग पनि यसबारे अनविज्ञ छन्। ‘इलामबाट स्वास्थ्य बीमा सुरु हुने अरे भन्नेसम्म चाहिँ पत्रपत्रिकामा पढेको हो। तर कसरी गर्ने सेवा/सुविधा के-के छन् भन्नेबारे जानकारी दिन गाउँघरमा कोही आएका छैनन्।’ यता दानाबारी-३ की सावित्रा ढकाललाई पनि यसबारे जानकारी छैन। उनलाई स्वास्थ्य बीमा गराउनुपर्छ भनेर कसैले भनेका पनि छैनन् ।
यी तीन त केबल उदाहरणमात्र हुन् । जिल्लाका प्राय नागरिकलाई यसबारे जानकारी छैन । २०६८ को जनगणनामा इलामको जनसंख्या २ लाख ९० हजार २ सय ५४ जना रहेको थियो। यसमध्ये जम्मा ७ हजार ५० जनाले मात्र स्वास्थ्य बीमा गराएको सामाजिक स्वास्थ्य सुुरक्षा विकास समिति इलामका प्रमुुख हार्दिक सापकोटाले बताए ।
दर्ता सहयोगी गाउँ–गाउँ पुग्न सकेनन्
दर्ता सहयोगी राखेर स्वास्थ्य बीमा गराउन परिचालन गरिए पनि अधिकांश गाउँमा यस्ता सहयोगी पुगेका छैनन्। घरघरमा पुग्न सकेका छैन्न । स्वास्थ्य बीमाबारे सामान्य जानकारी पाएका इलाम नगरपालिका–४ का प्रकाश नेपाल आफ्नोमा आजसम्म यसबारे कुरा गर्न कोही नआएको बताउँछन्।
‘स्वास्थ्य बीमाको विषमा मलाई सामान्य जानकारी छ। कार्यालयसँग सम्पर्क गर्दा दर्ता सहयोगी घरमा आउनुहुन्छ भन्ने जानकारी पाइयो, आजसम्म त्यस्ता सहयोगी हाम्रो गाउँमा आएका छैनन्।’ पहिलो चरणमा इलाम, कैलाली र बाग्लुङमा लागु गरिएको स्वास्थ्य बीमा कार्यक्रम हाल देशका २५ जिल्लामा पुगिसकेको छ ।
कार्यक्रम लागु भएका जिल्लाका प्रत्येक गाविसमा कम्तिमा १ जना दर्ता सहयोगी खटाइएको छ । दर्ता सुरु गर्दा जिल्लाभित्र ६४ जना सहयोगी राखिएको भएपनि हाल ५२ जनालेमात्र काम गर्दै आएको समितिका दर्ता अधिकृत खेमराज अधिकारीले बताए । समितिका अनुसार सोयाङ, जोगमाई, साखेजुङ, साक्फारा, दानाबारी, साविकको धुसेनी र सोयाकमा दर्ता सहयोगी पुगेका छैनन्।
यी अस्पतालबाट पाइन्छ सेवा
स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमा गराएपछि जिल्लाका प्याङ, पशुुपति नगर, सुुर्योदय नगरपालिकाको फिक्कल र देउमाई नगरपालिकाको मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रसहित जिल्ला अस्पतालबाट सेवा पाउने व्यवस्था मिलाएको छ। जिल्लामा उपचार सम्भव नभएका बिरामीका लागि मेची अञ्चल अस्पताल भद्रपुर, बिएण्डसी टिचिङ अस्पताल बिर्तामोड, आम्दा अस्पताल दमक र कोशी अञ्चल अस्पताल विराटनगर पठाइने र त्यहाँ पनि उपचार सम्भव नभएमा राजधानी रिफर गरिने बताइएको छ। स्वास्थ्य बीमा समितिले पहिलो वर्ष १२ हजार जनालाई स्वास्थ्य बीमा गराउने लक्ष्य राखेकाले आगामी असार मसान्तसम्ममा सो लक्ष्य पूरा हुने अधिकारी बताउँछन् ।
कति शुल्क लाग्छ ?
बीमा कार्यक्रममा दर्ता भइसकेका प्रतिपरिवार (पाँचजना)ले वार्षिक दुई हजार पाँच सय ‘प्रिमियम’ बुझाएपछि ५० हजार रुपैयाँसम्मको उपचार सेवा पाउनेछन्। एउटा परिवारमा पाँचभन्दा बढी सदस्य रहे थप सदस्यले ४ सय २५ रुपैयाँ वार्षिक प्रिमियम प्रिमियम बुझाएमा १० हजार रुपैयाँको उपचार सेवा थप हुन्छ ।
सरकारले गरीब परिचय पत्र वितरण गरेपछि बीमाका लागि अति गरिब परिवारका लागि १०० प्रतिशत, गरिब परिवारका लागि ७५ प्रतिशत र जोखिममा परेका परिवारका लागि ५० प्रतिशत ‘प्रिमियम’ मिनाहा गर्ने तायरी गरेको जनाइएको छ।
बीमा कार्यक्रम लागु भएपछि जिल्लामा दक्ष चिकित्सक, प्रयोगशालासहित प्राथमिक स्वास्थ्य केन्द्रमा समेत फार्मेसीको व्यवस्था गरिएको प्रमुुख सापकोटाले जानकारी दिए। यद्यपी सेवाग्रहीहरु भने सन्तुष्ट छैनन्। कार्यक्रम सुरु भएपछि जति नै दक्ष चिकित्सक ल्याए पनि पाउनुु पर्ने सेवाबाट नै बञ्चित बन्नुपर्दा खुुसी हुने ठाउँ नभएको उनीहरु बताउँछन्। इलाममा गत असार १५ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम लागु भएको हो।