नयाँ बुलन्द
झापा : झापाको विर्तामोडमा जारी दोस्रो झापा गोल्डकप फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लव सेमीफाइनल प्रवेश गरेको छ ।
सोमबारको खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई टाइब्रेकरमा ३-२ गोल अन्तरले पराजित गर्दै शेर्पाले सेमीफाइनलको यात्रा पक्का गरेको हो । निर्धारित र अतिरीक्त समय दुई/दुई गोलमा सकिएपछि खेलको नतिजा ट्राइब्रेकरबाट निकालिएको थियो ।
स्थानीय डोमालाल राजबंशी रंगशालामा भएको खेलमा ५५ औं मिनेटमा एपिएफका युवराज खड्काले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । ७५ औं मिनटमा खड्कालेनै गोल गर्दै एपिएफलाई २-० को अग्रता दिलाएका थिए । तर त्यो अग्रता खेल अवधिभर टिक्न सकेन ।
अन्तिम समयमा विभागिय टिम एपिएफ सम्हालिन नसक्दा ८७ औँ मिनेटमा शेर्पाबाट गोल खान पुग्यो ।शेर्पाका लागि सुनिल बलले गोल गर्दै अग्रता छोट्याएका थिए । त्यसको एक मिनेट पछि शेर्पाका निशान लिम्बुले गोल गर्दै बराबरी गरेपछि खेलको नतिजा कुर्न ट्राइबेकर पर्खनु परेको थियो ।
टाइब्रेकरमा शेर्पाका तर्फबाट हेमन गुरुङ, निराजन खड्का, निशान लिम्बूले गोेल गरेका थिए । एपिएफका तर्फबाट भने नबिन लामा, राजेन्द्र रावलले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरी घोषित भए । उनलाई म्याक्स हाउजिङ प्रालिका तर्फबाट नगद सात हजार रुपैयाँ प्रदान गरियो ।
प्रतियोगिता अन्तरगत मङ्गलबारको खेल रुपन्देही-११ र विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबीच हुने आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए । त्रिभुवन आर्मी राष्ट्रिय खेलाडीले भरिएको टोली हो ।
एक विदेशीसहित १० टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले नगद सात लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले नगद तीन लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।