निर्वाचन घोषणा नगरे सरकारमा बस्नुको औचित्य छैन : नेता खनाल

इलाम : नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले निर्वाचन मिति घोषणा गर्न नसके नेकपा (माओवादी केन्द्र) सरकारमा बसिरहनुको कुनै औचित्य नरहेको बताएका छन् ।

संविधान कार्यन्वयनका लागि जनपरिचालनअन्तर्गत चार महिने अभियानको क्रममा आज इलामको समालबुङ गाउँ कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता खनालले ‘आगामी २०७४ माघ ७ गतेसम्ममा तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ, यदि त्यसका लागि अहिलेनै निर्वाचन मिति घोषणा हुँदैन भने प्रचण्ड सरकारमा बस्नुको कुनै अर्थ छैन,’ उनले भने । नेपाली काँग्रेस र माओवादी केन्द्र डराएका कारण निर्वाचन मिति घोषणा गर्न नसकेको आरोप समेत उनले आरोप लगाए ।

अङ्गीकृतलाई प्रमुख पद दिने र हिन्दी भाषालाई राष्ट्रभाषा बनाउन विदेशीको इशारामा संविधान संशोधनको कुरा आएको बताउँदै उनले विदेशीलाई खुसी पार्ने संविधान संशोधन प्रस्ताव कुनैपनि हालतमा पास हुन नदिने बताए ।

निर्वाचन मिति घोषणा नगरे सो घोषणा गर्न एमालेले देशव्यापी रूपमा आन्दोलन सुरू गर्ने बताउँदै उनले राष्ट्रलाई कमजोर बनाउने कुनैपनि काम नगर्न सरकारलाई आग्रह गरे ।

अबको निर्वाचनबाट एमाले मुलुककै पहिलो पार्टी हुने दाबी गर्दै आफ्नो पार्टीले गाउँ–गाउँमा अभियान सञ्चालन जारी राखेको उनको भनाइ थियो । सोही अवसरमा माओवादी, काँग्रेसलगायत विभिन्न पार्टी परित्याग गरी आएका सयजनाभन्दा बढीलाई उनले स्वागत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार