आज शहीद दिवसः विभिन्न कार्यक्रम गरेर मनाइँदै

इलाममा प्रभातफेरी र प्रवचन

नयाँ बुलन्द

इलाम :  देश र जनताको अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति  सम्मान गर्दै अाइतबार देशभर शहीद दिवस मनाइँदै छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आएको छ ।

वीर शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द ठाकुर र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा शहीद दिवस मनाइएको हो ।

निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर शहीदको स्मरणमा विभिन्न गैरसरकारी सड्घसंस्थाको पहलमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाइँदै आएको छ ।

देशका विभिन्न समयमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका शहीदको साहस र त्यागको पनि लेखाजोखा र उच्च मूल्याङ्कन गर्दै माघ १६ लाई शहीद दिवशको रुपमा मनाइएको हो ।

१९९७ साल माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नाे हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो । यस्तै, सोही बर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भनेे माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।

यसैबीच इलाममा पनि प्रभातफेरी र प्रवचन कार्यक्रम गरी शहिद दिवस मनाइएको छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा राजनीतिक दलसहित जिल्लाका सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा संघसंस्थाहरुको सहभागितामा इलामको ठूलो टुँडीखेलबाट सुरु भएको जिल्ला विकास समितिको सभाहलमा पुगेर सभामा परिणत भएको थियो ।

स्थानीय विकास अधिकारी ध्रुवबहादुर खड्काको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रममा शहिदहरुको तस्विरमा माल्यार्पण गरि शहिदहरुको सपना साकार पार्ने प्रतिवद्धता जनाईएको थियो ।

कार्यक्रमका वक्ताहरुले शहीद दिवस हरेक वर्ष मनाइए पनि यो औपचारिकतामै सीमित हुने गरेको बताएका थिए । मुलुकमा गणतन्त्र आए पनि शहीदको योगदानको कदर हुन नसकेको धारणा राखेका थिए । उनीहरुले मुलुकमा लोकतन्त्र आए पनि राज्यले शहीदको योगदानको कदर गर्न नसकेको जिकिर गरेका थिए ।

मुुलुकमा गणतन्त्र आएसँगै शहीदको सपनाको राजनीतिक अध्याय केही हदसम्म पूरा भएपनि गणतन्त्र संस्थागत नभएसम्म ढुक्क हुने अवस्था नरहेकोमा जोड दिइएको थियो । मुलुकमा राजनीतिक उपलब्धि भए पनि शहीदले कल्पना गरेको समाज अझैँ निर्माण हुन नसकेको भन्दै सबै दल मिलेर शहिदहरुको सपना साकार पार्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति हिमालय कर्माचार्य, नेकपा एमालेका सचिव महेश बस्नेत, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनीधि धनबहादुर मगर, संघीय समाजवादी फोरमका उपाध्यक्ष बखतबहादुर आङदेम्बे, नेपाल कम्युनिष्ट पार्टीका भूमि ढुङ्गाना, नयाँ शक्ति पार्टी नेपालका सहसंयोजक लेखनाथ खनाल लगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रम जिविसका सामाजिक विकास अधिकृत राम योङहाङले सञ्चालन गरेका थिए ।

शहीद दिवशको अवसरमा नेपाल सरकारले प्रत्येक वर्ष सार्वजनिक विदा दिने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार