
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेशी मोर्चाका नेताहरुकै सहमतिमा मात्रै निर्वाचनको मिति घोषणा गर्ने विश्वास दिलाएका छन्।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काँग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चावीच भएको छलफलमा प्रधानमन्त्री दाहालले यस्तो आश्वासन मोर्चाका नेताहरुलाई दिएका हुन्।
बैठकबारे जानकारी दिँदै मोर्चाका प्रभावशाली नेता हृदयेश त्रिपाठीले भने,“प्रधानमन्त्रीज्यूले हाम्रो सहमतिमामात्रै चुनावको मिति घोषणा गर्छु भन्नुभएको छ, उहाँले पहिले संसदमा टेबुल भएको संविधान संशोधन विद्येयकलाई परिमार्जनसहित पारित गर्ने वचन दिनुभएको छ, त्यसैले अहिले चुनावभन्दापनि संशोधन प्रधान कुरा हो, त्यसमा सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्र सहमत भएका छन्।”
बैठकले सहमतिमै राजनीतिक निकास खोज्ने गरी छलफललाई सघन रुपमा अगाडि बढाउने निर्णय समेत गरेको छ। सहमतिमै राजनीतिक निकास खोज्न छलफललाई तिब्रता दिने निर्णय गरेको हो ।
बैठकमा स्थानीय तहको निर्वाचन, संविधान संशोधन र स्थानीय तह पूनर्संरचना आयोगले बुझाएको प्रतिवेदनका विषयमा छलफल केन्द्रित थियो।
बैठकमा प्रधानमन्त्रीले राजनीतिक निकासका लागि स्थानीय तहको निर्वाचनमा जानेबारे नेताहरुको धारणा माँगेका थिए। बैठकले सत्ता पक्ष, प्रतिपक्षी दल र मधेश केन्द्रित दलहरुबीच सहमति जुटाएरै संविधान संशोधन, स्थानीय तह पूनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयन र निर्वाचनको मिति घोषणाबारे टुङ्गोमा पुग्ने निर्णय गरेको हो।
बैठकले संविधान संशोधनका लागि संसदमा दर्ता गरिएको प्रस्तावलाई सबैको सहमतिमा परिमार्जन गर्न छलफललाई तिब्रता दिने र सहमतिकै आधारमा निर्वाचनको मिति घोषणा गर्ने निर्णय गरेको हो।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री बिमलेन्द्र निधि, माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’, मातृका यादव, कांग्रेस नेता रामशरण महत, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, नेताहरु राजेन्द्र महतो, अनिलकुमार झा, हृदयेश त्रिपाठी लगायत सहभागी थिए।





















































