छाराहाङले बनाए लिम्बुवान मुक्ति मोर्चा संघीयवादी

नयाँ बुलन्द

झापा : संघीय लिम्बुवान पार्टी नेपालबाट असन्तुष्ट भई बाहिरएका नेता कमल छाराहाङले नयाँ पार्टी  घोषणा गरेका छन् । झापाको दमकमा एक कार्यक्रमका बीच छाराहाङले लिम्बुवान मुक्ति मोर्चा संघीयवादीको घोषणा गरेका हुन् ।

पार्टी घोषण कार्यक्रममा बोल्दै पार्टीका संयोजक छाराहाङले लिम्बुवानको मुद्धा उठाउने केही पार्टीहरुका नेताको गलत बिचार र दृष्टिकोणका कारण लिम्बुवानको आन्दोलन सडकमै रहेको दाबी गरे । सबै जातीको पहिचान र अस्तित्व कायम राख्दै लिम्बुवान राज्य प्राप्तीको आन्दोलनमा संघीय पक्षधरलाई साथमा लिएर अघि बढ्ने पनि उनले बताए ।

नेता छाराहाङले पार्टीको सदस्य सचिवमा राजकुमार पालुङ्वा, सदस्यहरु सुबासचन्द्र खापुङ, हिमाल लिम्बू, जितेन राई, गोकुल भुजेल, कान्छा लिम्बूलगायतका ५१ सदस्यीय कार्यसमिति रहेको बताए ।

छाराहाङ गत असोज ४ देखि ६ गतेसम्म दमकमै भएको संघीय लिम्बुवान पार्टी नेपालको प्रथम एकता महाधिवेशनबाट असन्तुष्ट भई पार्टी परित्याग गरेका थिए । उनी महाधिवेनसम्म संघीय लिम्बुवान पार्टी नेपालका सर्वोच्च नेता थिए ।

पार्टी घोषणा कार्यक्रममा प्मुख अतिथी साहित्यकार डाक्टर टंक आचार्यले सबै समुदाय र हरेकको पहिचानलाई सबैले स्वीकार गर्नुपर्ने बताए । कार्यक्रममा तामासालिङ राष्ट्रिय जन एकता पार्टीका महासचिव राम घिसिङ, संघीय लिम्बुवान क्रान्तिकारीका महासचिव मित्र लिङदेन र खम्बुवान लोकतान्त्रिक राष्ट्रिय पार्टीका अध्यक्ष किरण राईले अहिलेको ७ प्रदेशले लिम्बुवान, खसानलगायतका पहिचानलाई सम्बोधन गरेको आरोप लगाए ।

कार्यक्रममा ब्लाष्ट दैनिकका प्रधान सम्पादक राजकुमार कार्की, कान्तिपुर दैनिकका पत्रकार हर्ष सुब्बा, साहित्यकार मनिस हेलोप र मुर्तीकार हिक्मत नेम्वाङ्लाई सम्मान गरिएको थियो ।

अरुणपूर्वका ९ जिल्लालाई लिम्बुवान राज्य माग गर्दै विभिन्न लिम्बुवानजन्य पार्टीहरुबीच द्वन्द्व चलिरहेको बेला अर्को पार्टीको जन्म भएको हो । यसअघि एकता गरिएका भनिएका लिम्बुवानजन्य पार्टीहरु पुन ३ टुक्रामा विभाजित भइसकेका छन् ।

अहिले कुमार लिङदेनले संघीय लोकतान्त्रक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च र सञ्जुहाङ पालुङवाले संघीय लिम्बुवान पार्टी नेपालको नेतृत्व गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार