काठमाडौं : संघीय समाजवादी फोरम नेपालले विचार, नीति र सिद्धान्त मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रिय कार्यालयमा बसेको राजनीतिक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
पछिल्लो कालमा नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकताको कसरत भइरहेको चर्चा पनि चलेको छ । ‘अहिले नै यो पार्टी वा त्यो पार्टी भनेर ठोस रुपमा आएको छैन,’ राजनीतिक समिति सदस्य राजकुमार राईले भने, ‘तर विचार, नीति र सिद्धान्त मिल्ने पार्टीहरुसँग एकता गर्दै अघि बढ्ने विषय चाहिँ निर्णय नै गरिएको छ ।’
परिमार्जन भएमात्रै संशोधन विधेयकमा समर्थन
बैठकले सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयकलाई परिमार्जनसहित आए मात्रै समर्थन गरेर जाने निर्णय पनि गरेको छ । सरकारले ल्याएको विधेयक अपुरो रहेको र आन्दोलनरत दलहरुसँग कुनै परामर्श नै नगरिकन ल्याइएको बैठकको निष्कर्ष छ ।
‘परिमार्जनसहित संशोधन प्रस्ताव आएमा पारित गर्ने तर यथास्थितिमा चाहिँ नगर्ने कुरा भएको छ,’ राईले भने, ‘अहिले दोस्रो जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलनबाट प्राप्त उपलब्धिहरु नै नामेट पार्ने प्रयास भइरहेकाले संघीयता, गणतन्त्र धर्मनिरपेक्षताको रक्षाका निम्ति कडा रुपमा उभिनुपर्ने परिस्थिति सिर्जना भएको विषयमा पनि कुराकानी भयो ।’