गाउँघरमा यसरी जन्मिँदैछ नयाँ जमिन्दारी, थपिँदैछन् सुकुम्वासी
शिव मुखिया
इलाम : इलामको कन्याम चिया बगान नजिकै गोगने निवासी हर्षना कटुवाल विदेशमा रहेका श्रीमान र हुर्कंदै गरेका आफ्ना दुई बच्चालाई छाडेर एकाएक हराइन् । भर्खरै बनाएको उनको एकतले पक्की घरमा लघु वित्तका कर्मचारीले ताला लगाइदिएका छन् । स्थानीय जानुका महतका अनुसार उनी ‘लघु वित्तको ऋण तिर्न नसकेपछि भागेकी’ हुन् ।
हर्षनाले सोही घर निर्माणका लागि ११ वटा समूहबाट ऋण लिएकी थिइन् । ससुराको धनीपूर्जा समेत राखेर निकालेको ऋणले थिचिएपछि उनी हराएकी छिमेकीको भनाइ छ । हर्षनाको जस्तै कोल्बुङ-१ स्थित छिरिङ लेप्चाको घरमा पनि तालाबन्दी लागेको छ । घरबारी बाँझै छ । गोठ रित्तो छ ।
उनकी एक छिमेकीले ‘डेढ वर्षअघि पत्नीसहित छिरिङ घरबार छाडेर सिक्किमतिर लागेको’ बताइन् । तिनै छिमेकीका अनुसार लघुवित्तवाट लिइएको ८ लाख रुपैयाँ ऋण तिर्न नसकेपछि छिरिङले थातथलो छाडेका हुन् ।
हर्षना र छिरिङले जस्तै विभिन्न लघुवित्तवाट ऋण लिँदै ‘लगानी’ गर्ने क्रममा आफ्नो सबै घरबार सकिएको समेत भेउ पाइनन् इलाम नगरपालिकास्थित मालापथकी रत्नकुमारी लिम्बूले पनि ।
थोरै-थोरै गर्दै निकालेको ऋणको मासिक किस्ता नै लाख रुपैयाँभन्दा बढी बुझाउनु परेपछि अन्ततः रत्नकुमारीले ३५ वर्ष लगाएर जोडेको घरसहितको एक रोपनी जग्गा बिक्री गरिन् । र, एकमुष्ठ ४२ लाख रुपैयाँ लघु वित्तलाई बुझाइन् ।
अहिले इलाम नगरपालिकामै मासु व्यवसाय गर्दै आएका विष्णु लिम्वु भन्छन्, ‘आमाले महंगो व्याजमा अन्धाधुन्द लिएको ऋण एकमुष्ठ तिर्दा सबै घरबार गयो ।’
‘विपन्न समुदायको आयस्तर उकास्ने’ भन्दै गाँउ-सहरभरि छ्यापछ्याप्ती छिरेका लघु वित्तका कारण अन्ततः तिनै वर्गका मानिसहरु कसरी ‘सुकुम्वासी’ बन्दैछन् भन्ने दृष्टान्त हुन् यी घटना ।
किन आत्मघाती बन्दैछन् लघुवित्त ?
सहज बाटोबाटै वित्तीय सेवा पुर्याउन सञ्चालित लघु वित्तका ऋण-योजना किन प्रत्युत्पादक बन्दैछन् ? यसको एउटामात्रै जवाफ छैन ।
लघु वित्तले असुल्ने महंगो ब्याजदर, कमजोर लगानी संयन्त्रसँगै उपभोक्ताको लापरवाही, लक्षित शीर्षकमा लगानी नगर्ने प्रवृत्ति, उद्यमशीलताको अभाव जस्ता अनेकन कारणले समाजमा भित्रभित्रै आर्थिक विच्छृंखलता त निम्त्याएको छ नै, पारिवारिक जीवन पनि धरापमा पार्दैछ ।
लघु वित्तबाट ऋण लिन सजिलो भए पनि त्यसले असुल्ने अतिरिक्त शुल्क, मासिक किस्ताले डुबाउने बताउँछिन्, इलाम सुम्बेककी कृष्ण विश्वकर्मा । ‘लगानी गर्न पुग्दो पैसा दिँदैन’ विश्वकर्मा भन्छिन्, ‘अनि त्यसबाट आम्दानी लिनै नपाई मासिक किस्ता बुझाउन थाल्नुपर्छ ।’
लगानीको प्रतिफल नआई मासिक किस्ता बुझाउनुपर्दा त्यसको परिपूर्तिका लागि पुनः अन्यत्रैबाट ऋण लिने प्रवृत्ति देखिएको छ । यसरी एकातिरको ऋण टाल्न, अर्कोतिर ऋण लिने क्रममै उपभोक्ताहरु दलदलमा फस्ने उनको अनुभव छ ।
इलाम नगरपालिकामा मासु व्यवसाय गर्ने विष्णु लिम्बू लघु वित्तका कारण सबै घरवार गुमाउनु परेको पीडाभन्दा पनि यसले आफ्नी आमामाथि पर्न गएको मानसिक आघातले बढी चिन्तित छन् । ‘हाम्री आमाजस्ती बुढाबुढी मान्छेलाई भकाभक ऋण दिनुअघि परिवारलाई पनि सोध्नुपर्ने हो’ विष्णु भन्छन्, ‘त्यो ऋण लगेर के गरिरहेको छ ? कस्तो ठाउँमा लगानी गरेको छ भन्ने कुरा सोधखोज गरेको भए यस्तो अवस्था आउँदैनथ्यो ।’
उपभोक्ताबाट जसरी पनि पैसा असुल हुने वा घरखेतै उठाउन पाउने भएपछि नयाँ ‘जमिन्दारी-प्रथा’को शैलीमा ऋण लगानी गर्ने क्रम प्रतिस्पर्धात्मक रुपमा बढेको उनको गुनासो छ ।
के भन्छन् लघु वित्तका सञ्चालक ?
यद्यपि ऋण लगानी गरेपछि त्यसको नियमित अनुमन गरेको जिकिर गर्दै समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका सिइओ देवेन्द्र वस्नेत भन्छन्, ‘ऋण दिइसकेपछि उसले कहाँ, कसरी लगानी गर्यो भनेर हामी रेखदेख गरिरहेकै छौं । तर, यति गर्दागर्दै पनि कति उपभोक्ताले आफूहरुलाई झुक्याएर लिएको ऋण अरुतिर खर्च गर्ने, उद्यम-व्यवसाय नगर्ने प्रवृत्ति छ ।’
लघु वित्तका ऋण लगानी आयमूलक क्षेत्रमा मात्र हुनुपर्छ । यद्यपि व्यापार, व्यवसाय, खेतीपाती, पशुपालन आदि शीर्षकमा ऋण लिएर घर निर्माणमा खर्चने, गरगहना जोड्ने वा थप ब्याज असुल्ने गरी अरुलाई ऋण दिने जस्ता कारणले उपभोक्ताहरुले यसबाट उचित प्रतिफल लिन नसकेको देखिन्छ । यद्यपि बस्नेत स्वयं के स्वीकार्छन् भने, ‘राम्रै आयस्रोत भएका, आम्दानी लिइरहेकाहरुले यसबाट घरखेत जोड्नुलाई अन्यथा लिनुभएन ।’
ग्रामीण समाजमा ‘उद्यम-व्यवसाय गर्छु’ भन्नेहरु लगानी अभावमा छटपटाइरहेका हुन्छन् । ठूला बैंकबाट ऋण लिन झन्झटिलो छ । कमर्सियल बैंकले त्यस क्षेत्रमा लगानी गर्दैनन् । त्यसैले अन्य बैंक एवं वित्तीय सेवा नपुगेको क्षेत्रमा ‘घरदैलो’मा पुगेर ऋण प्रवाह गरिरहेको लघु वित्तमाथि अनावश्यक लान्छाना लगाउन उचित नहुने जिकिर छ, बस्नेतको ।
ऋणीहरु यसरी फस्नुमा लघु वित्तले ऋण लगानीका लागि गर्ने गरेको होडवाजी पनि एउटा कारण भएको स्वीकार्छन्, इलामस्थित निर्धन उत्थान बैंकका शाखा अधिकृत गणेश अधिकारी । ‘सजिलै पाउने भएपछि जथाभावी ऋण लिन्छन्’ अधिकारी भन्छन्, ‘एकै क्षेत्रमा धेरैवटा लघु वित्तको कार्यक्रम भएकाले पनि यो समस्या आएको हो ।’
लघु वित्तको ऋण तिर्न नसकेर घर छाडेर भाग्नेहरु प्रशस्तै भए पनि आत्महत्या गरेको कुरा कपोलकल्पित भएको दाबी गर्छन् निर्धन उत्थान बैंक इलाम शाखाका अधिकारी । ‘आत्महत्या गरे भन्दैमा त्यसको दोष लघु वित्तलाई दिन मिल्दैन’ उनी भन्छन्, ‘त्यसमा अरु कारण होला ।’
नेपाल राष्ट्र बैंकको अभिलेख अनुसार देशभर १२ लाख ९६ हजार दुई सय ४४ जनाले यस्ता लघु वित्तवाट ऋण लिएका छन् । गत असार अन्तिमसम्मको यो तथ्यांकले ४१ वटा लघुवित्तमार्फत उनीहरुमाथि ३७ करोड २६ लाख १९ हजार एक सय ४२ दशमलव ४ रुपैयाँ ऋण प्रवाह गरिएको देखाउँछ ।
गाउँभरिको पैसा रित्तियो, चेलीबेटीहरु असुरक्षित भए
अब फेरि एकपटक इलामका गाउँमा लघु वित्तको प्रभावबारे चर्चा गरौं ।
लघु वित्तद्वारा बनाइएको ‘ऋण समूह’मा आवद्ध महिलाहरुको ठूलो तप्का कुनै न कुनै रुपले मानसिक समस्याको शिकार भएको छ । ऋणको चाप, पारिवारिक कलह र सामाजिक वेइज्यतीका कारण कतिले बालबच्चा र घरबार त्यागेका छन् ।
माबु गाविस-५ की माया र सन्देश गुरुङ (परिवर्तित नाम) को दाम्पत्य जीवनमा चिरा ल्याउने कारण वन्यो, लघु वित्तको ऋण । गुरुङ दम्पतीले लघु वित्तवाट ऋण ल्याएका थिए ।
‘उद्यम व्यावसाय’ गर्न लिइएको ऋणले डुबाएपछि मायाले अनौठो तरिका अपनाइन्, ऋण तिरिदिने सर्तमा अर्कैसँग विवाह गर्ने । आफ्ना श्रीमान् छाडेर अर्कैलाई उनले लघु वित्तको डेढ लाख रुपैयाँ ऋण तिराइन् पनि ।
यता बरबोटे गाविसस्थित ओखरेकी एक अधिकारी दम्पतीको सम्वन्ध पनि लघु वित्तकै कारण टुट्न पुग्यो । वैदेशिक रोजगारीमा गएका श्रीमान्ले पठाइदिने खर्चबाट राम्रैसँग घरबार चलाइरहेकी कमला अधिकारी (परिवर्तित नाम)ले विभिन्न लघु वित्तवाट ऋण लिएर लगानी गरिन् ।
तर, उनको लगानीले सोचेजस्तो मुनाफा दिएन । उक्त लगानी सुरक्षित गर्न उनले अर्को संस्थाबाट ऋण लिइन् । यो उपक्रम त्यसबेलासम्म चलिरह्यो, जबसम्म उनी उक्सनै नसक्नेगरी ऋणमा डुबिनन् ।
ऋणै, ऋणको व्ययभार थेग्न नसकी उनी विदेशमा रहेका श्रीमानलाई कुनै सुइँको नदिई सानो छोरालाई च्यापेर भागिन् । ‘आफ्नो लोग्ने छाडेर ऋण तिराउनकै लागि अर्कोसँग बिहे गर्ने र भाग्नेहरु गाउँमा बढेका छन्’ सुम्वेकका जयकुमार राई भन्छन्, ‘यसरी बिहे गर्ने र भाग्नेहरुमध्ये कतिचाहिँ दलालको फन्दामा परेर भारतमा बिक्रीसमेत भएको सुनिएको छ ।’
महिलाहरु ऋणको दलदलमा फस्ने क्रम बढेपछि उनीहरुलाई पैसाको प्रलोभनमा बिहे गर्ने र भारततिर बेच्ने दलालहरु गाउँमा सल्बलाउन थालेको राई बताउँछन् ।
इलाम सुम्वेक-७ का ‘धनीमानी’मा गनिन्थे, लक्षुमान सुनुवार । तर, लघु वित्तको ‘ऋण खेलाउने’ हुँदा उनको जहाज यसरी डुब्यो कि त्यो दलदलबाट उम्कन उनले भएभरको जग्गा जमिन बेच्नुपर्यो । त्यो पनि चलनचल्तीको भन्दा एकदमै न्यून मूल्यमा ।
सुम्बेक-२ की सुभद्रा तामाङले लघु वित्तकै ऋण तिर्न सबै जग्गा विक्री गरिन् । अझै पनि उनी ऋणमुक्त भएकी छैनन् ।
सोही ठाँउकी अमृता राई लघु वित्तवाट ऋण तिर्न घरवारी अर्कालाई सुम्पन बाध्य भएको बताउँछिन् । राई भन्छिन्, ‘अहिले कुनै गाउँ सग्लो छैन, सबैतिर समूहको ऋणले अस्तव्यस्त बनाएको छ ।’
‘लघु उद्यम’का लागि प्रवाहित ऋणले कसैको घरबार डुबाएको छ भने कसैको दाम्पत्य जीवन टुटाएको छ । तोकिएको अवधिमा ऋण तिर्न नसकेपछि घरबार त्यागेर भाग्नेको कथा उत्तिकै कहालीलाग्दो छ ।
आत्महत्या गर्ने क्रम बढ्यो
ऋणको व्ययभार क्रमशः बढ्दै गएपछि कसरी जायथेथा गुमाउनुपर्छ र यसले पारिवारिक कलहसँगै आत्महत्या गर्नुपर्ने मनस्थितिमा कसरी पुर्याउँछ भन्ने लम्वेतान कथा सुनाइन् इलामको सुम्बेकी लामगादेले । उनले भनिन्- ‘ऋण तिर्ने केही उपाय नलागेपछि समाजमा अनुहार देखाउन लाज लाग्यो, घरमा पनि कलह बढ्यो । धेरैचोटि आत्महत्या गर्ने सोचाइ बनाएँ, तर मर्न सकिनँ ।’
- पूजा लामगादेले परिवारसहित सुम्बेकस्थित यो घर छाडे
ऋण तिर्न नसकेकी लामगादे यतिबेला घरबार छाडेर अन्यत्रै मजदुरी गरिरहेकी छिन् ।
आफू मर्न नसके पनि दियाली थरकी आफन्तले सोयाङस्थित आफ्नो घर छेवैको जंगलमा झुण्डिएर आत्महत्या गरेको बताउँछिन् लामगादे । उनका अनुसार, त्यस दिन उनीहरुको ‘समूह बस्ने’ कार्यक्रम थियो । आफूले ल्याएको ऋणको मासिक किस्ता खोज्न हिँडेकी दियाली जंगलमा झुन्डिएको अवस्थामा फेला परिन् ।
लघु वित्तले स्थानीय महिलाहरुकोे समूहमार्फत ऋण लिने र किस्ता रकम बुझाउने परिपाटी चलाएको छ । यसका निम्ति हरेक २८ दिनमा भेला राखिन्छ । यसैलाई ‘समूह बस्ने’ भनिन्छ ।
समूह बस्ने दिन इलाम नगरपालिकाकी एक महिलाले पनि आत्महत्या गरेको मालापथकी यमुना देवान वताउँछिन् । यमुना स्वयं लघुवित्तको ऋणले मानसिक तनाव झेलिरहेकी छिन् । ‘विना धितो सजिलै ऋण पाएपछि चलाउँन थालें’ देवान भन्छिन्, ‘तर, अहिले त्यही ऋणमाथिको ऋणले तनावमा पारेको छ ।’
अरुको ऋणसमेत आफ्नै थाप्लोमा
गोगनेकी जानुका महतले एक लघु वित्तलाई मासिक नौ सय रुपैयाँ बुझाइरहेकी छिन् । उनकै वुहारीको थाप्लोमा पनि यस्तो ऋण छ । यसरी ऋण कहिलेसम्म तिरिरहनुपर्ने हो ? त्यसको कुनै अत्तोपत्तो छैन । किनभने, जसले ऋण लिएका हुन्, उनी घरपरिवार त्यागेर भागिसके । ‘हामी एउटै समूहमा बसेकाहरुले अहिले उसको ऋण तिरिरहेका छौं’ महत भन्छिन् ।
लघु वित्तले ऋण लगानी गर्न र उठाउनका निम्ति महिलाहरुको समूह गठन गरिदिन्छ । देशभर तीन लाख ६६ हजार ५ सय ४७ (०७३ असार अन्तिमसम्म) यस्ता समूह छन् । समूहमा महिलाहरुले मात्रै सदस्यता पाउँछन् ।
एउटा समूहमा पाँच-पाँच जना सदस्य हुन्छन् । उनीहरुमध्ये जसलाई ऋण चाहिएको हो, उसले अन्य सदस्यलाई जमानी राखेर ऋण लिन सक्छन् । यदि उक्त ऋण तोकिएको अवधिमा नबुझाए समूहका वाँकी चार सदस्यले तिर्नुपर्छ ।
महत भन्छिन्, ‘हाम्रै गाउँमा अर्काले खाएको पाँच वटा समूहको ऋण तिरिरहेकाहरु पनि छन् ।’ यसरी अर्काले खाएको ऋणको भार बोकेर बसेका महिलाहरु पारिवारिक कलहको निहुँ समेत बनिरहेको महतले बताइन् । ‘पति मरीमरी पैसा कमाउने, पत्नीचाँहि अर्कैले खाएको ऋण तिर्ने’ महत भन्छिन्, ‘यही कारणले पनि धेरैको परिवारमा तनाब भएको छ, कतिले सम्वन्ध विच्छेदसमेत गरेको सुनिन्छ ।’
अर्काको धनीपूर्जा राखेर ऋण
धेरै ऋणीले अर्काको धनीपूर्जासमेत राखेर ऋण निकालेका छन् ।
आफ्नो जग्गाको धनीपूर्जा राखेर आफन्त भागेपछि अहिले कोल्वुङका घनश्याम भुजेल उक्त धनीपूर्जा उकास्न आफैंले ऋणको किस्ता बुझाइरहेका छन् । अर्काको धनीपूर्जा, गरगहना, चौपाय धितो राखेर ऋण खाँदै भाग्नेहरुका कारण कतिले विना कसुर ऋणको भार बोकिरहेका छन् ।
- कोलबुङस्थित छिरिङ लेप्चाको घर, उनी यो घर छाडेर सिक्किम भागेका छन् ।
इलाम हर्कटेमा होटल व्यवसाय गर्दै आएकी धनमाया लेप्चाले पनि धेरैजनाको ऋण तिरिदिएको बताइन् । ‘एकजना भुजेल बहिनीको ऋण हामी १३ जनाले तिरिदियौ’ विभिन्न सातवटा समूहमा आवद्ध रहेकी लेप्चा भन्छिन्, ‘अरु थुप्रैको ऋण मैले तिरिदिएकी छु ।’
लेप्चाले सुरुमा गाईपालनका लागि ऋण लिएकी थिइन् । तर, दूध बेचेकै भरमा उक्त ऋणको मासिक किस्ता तिर्न सकेनन् । अन्ततः गाई वेचेर ऋण सल्टाउनुपरेको लेप्चाले सुनाइन् ।
ताली नबजाए मनमुटाव
सबै सामु उभिएर दुई हात जोडेर ऋण माग्नुपर्ने कृष्णकुमारी विश्वकर्मा बताउँछिन् । उनी पुरानो सामन्ती समाजका दिनहरु सम्झँदै भन्छिन्- ‘उहिले गाउँको मुखियालाई ऋण मागेजस्तै गरी अनुनय-विनय गर्नुपर्छ, यसो गर्दा आत्माग्लानी हुन्छ ।’
इलामको गाउँघरमा चलेको प्रचलन अनुसार ऋण लिन चाहनेले नमस्कार गरेर पैसा मागेपछि अन्य चार जनाले ताली बजाएर अनुमोदन गर्नुपर्ने हुन्छ । यदि चार जनामध्ये एक जनाले पनि ताली बजाएन भने सम्वन्धित व्यक्तिले ऋण पाउँदैनन् ।
- रत्नकुमारी लिम्बु
‘आफ्नै समूहको मान्छे बेइमान पनि हुन सक्छ, को कस्तो छ भनेर बुझ्न सकिदैन’ हर्कटेकी शान्ति लेप्चा भन्छिन्, ‘तर, त्यसो भन्दैमा ताली नबजाउन पनि मिल्दैन । बाध्य भएर ताली बजाउनैपर्छ ।’
समूहमा कसैले ऋण मागिरहेको छ र त्यसलाई ताली बजाएर अनुमोदन गरिएन भने छिमेकी रिसाउने, बोलचालै बन्द हुने र झगडा हुने लेप्चाले बताइन् ।
यदि ऋणीले तोकिएको अवधीमा, निश्चित किस्ता रकम बुझाएन भने ताली बजाएर अनुमोदन गर्ने समूहले त्यो किस्ता तिर्नुपर्छ । कृष्णकुमारी बिश्वकर्मा थप्छिन्, ‘ताली बजाउँ त अर्काको ऋणको भार बोक्नुपर्ने हुन सक्छ, नबजाउँ भने छिमेकी रिसाउँछ ।’
समूहका सदस्यलाई ताली बजाएर ऋण दिलाएपछि उक्त ऋणीले कतै बेइमान गर्ला कि भनेर सधै भयभीत र संशकित हुनुपर्ने कृष्णकुमारीको अनुभव छ ।
यसरी पाँच जनाले अनुमोदन गरेकै भरमा ऋण दिने परिपाटी आफैंमा कमजोर रहेको औंल्याउँछन्, निर्विकल्प सुब्बा । यस किसिमबाट ऋण दिने/लिने प्रकियालाई महिलाहरुमाथि गर्ने ‘इमोशनल ब्ल्याकमेलिङ’को रुपमा अथ्र्याउँछन् उनी ।
‘भावुक हुने र छिटै पग्लने महिलाहरुको स्वभावमाथि खेलबाड भैरहेको छ’ सुब्बा भन्छन्, ‘उनीहरुबाट जसरी पनि ऋण असुल हुन्छ भनेर जथाभावी लगानी गरिएको छ ।’
समूह बस्दैमा हैरानी
लघु वित्तपिच्छेको ‘समूह बस्दा’ अरु काम लथालिंग भएको छ, यमुना देवानको । उनी आधा दर्जन बढी समूहमा संलग्न छिन् । यी समूहका लागि उनले महिनामा एक हप्ता पुरै समय खर्चनुपर्छ । आफुले ऋण लिन मात्र होइन, अर्कालाई ऋण दिलाउनका लागि पनि तोकिएको समयमा हाजिर हुनैपर्छ । ‘समूह, समूह भन्दैमा अरु केही गर्नै पाइँदैन’ देवान भन्छिन्, ‘न ढुक्कले बस्न पाइयो, न विरामी नै भन्न पाइयो ।’
समूह वस्ने दिन नियमितरुपमा भेला हुनैपर्ने प्रावधान छ । पाँच मिनेटमात्रै ढिला हाजिर भइयो भने माफी मागेर जरिमाना तिर्नुपर्छ ।
गाँउमा समूह बस्ने दिन अधिकांश महिलाहरु किस्ता तिर्ने पैसा जुटाउन दौडधूप गरिरहेका भेटिने अमृता राईको भनाइ छ । ‘ऋण लिएको पैसा मासिइसकेको हुन्छ’ राई भन्छिन्, ‘त्यसैले किस्ता बुझाउने पैसा अरुतिरै खोज्नुपर्यो ।’
‘लघु वित्तले गाउँभरिको गोजी टकटक्याए, गरगहना सोरपटार पारे’
जसरी पनि पैसा जुटाउनै पर्ने दबाव र बाध्यताले छिमेकीको गरगहना, धनीपूर्जा समेत धितो राख्ने गरेको सुम्वेकका वीरबहादुर तामाङ बताउँछन् । ‘लघु वित्तहरुले गाउँभरिको गोजी टकटक्याए, गरगहना सोरपटार पारे’ तामाङ भन्छन्, ‘एउटी बहिनीले मेरै सुनको औंठी लगेर किस्ता तिरेकी छिन् ।’
हप्तैजसो बस्ने समूहले गाउँलाई नै आर्थिकरुपले टाट पल्टाउँदै लगेको शिक्षक राजबहादुर राई बताउँछन् । गाउँमा अहिले पैसाको चलखेल नै ठप्प हुँदै गएको राईको दाबी छ । ‘अब सरसापट गर्ने पैसा समेत गाउँलेसँग छैन’ राई भन्छन्, ‘वचत, किस्ता, विमा भन्दै भएभरको पैसा उठाएर लगिसके ।’
लघु वित्तको ऋणकै कारण गाउँघरमा सरसापटी चलाउने मान्छे पनि छैन । त्यही भएर धेरैजसोले एउटा ‘समूह’को ऋण तिर्न अर्को समूहबाट ऋण निकाल्न बाध्य हुने गरेका छन् । ‘सजिलै समस्या सल्टाउने’ यो विधिले उनीहरु ऋणमाथि ऋणको बोझमा थिचिँदै जाने गरेका छन् ।
गोगनेकी जानुका भन्छिन्, ‘एउटा समूहबाट ल्याएर अर्कोमा तिर्यो, अर्कोबाट अर्कोमा गर्दै ११ वटासम्म समूहका ऋण लिनेहरु गाउँमा कति छन् कति ।’
-अनलाइनखबरबाट साभार