जीवन लिम्बू
इलाम : रक्षामन्त्री बालकृष्ण खाँडले किरातधर्म सबैको साझा धर्म भएको भन्दै यसको संरक्षण र विकासमा जोड दिनुपर्ने बताएका छन् ।
इलामको बाँझोस्थित माङसेबुङमा किरातीहरुको चाड खिवेक्वा याक्वा सेवाको उद्घाटन गर्दै रक्षामन्त्री खाँडले सो कुरा बताएका हुन् । उनले प्रकृतिपूजक किरातीहरुको छुट्टै संस्कृति र पहिचान भएको भन्दै यसको संरक्षण र विकासमा राज्यले उचित कदम चाल्नुपर्नेमा जोड दिएका थिए ।
महिङगुम आङसीमाङ आत्मानन्द लिङदेन सेइङ तथा महिङगुम आङसिमाङमा साँवा पवित्रहाङमा लिङदेनको बाँझो ९ माङसेबङमा सोमबारदेखि सो सेवा सुरु भएको हो ।
खिवेक्वायक्वा सेवा कार्यक्रम अन्तरगत बुधबार समारोहको समुद्घाटन, पुस्तक विमोचन, तथा विभिन्न सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिएको छ ।
कार्यक्रमको समुद्घाटन समारोहमा किरात रिलिजन अमेरीकाका प्रतिनिधि भक्त तिगेला, नेपाली काग्रेसका प्रतिनिधि भेषराज आचार्य, सांसद नगेन्द्रकुमार कुमाल लगायतले शुभकामना मन्तव्य राख्दै प्रकृतिसँग नजिक किरातहरुको संस्कार संस्कृतिले प्रकृतिसँग समायोजन हुँदै विकासलाई मद्दत पुर्याउनेमा जोड दिदैं शुभकामना मन्तव्य राखेका थिए ।
समारोहका अध्यक्ष केहेरसिंह योङहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी सहित किरात धर्मसँग सम्बन्धित पुस्तक फूङसारेको विमोचन तथा लोकार्पण समेत गरिएको थियो ।
कार्यक्रममा भारत, सिक्किम, अासाम, भुटान, बर्मा, अमेरिका, बेलायत, अष्ट्रेलिया लगायतका भक्तजनहरु सहभागी रहेका छन् । कार्यक्रमको समापन शुक्रबार हुनेछ ।