फूटबलको उपाधि इभाङ्ग ६ लाई

स्पर्श अतित योङहाङ  

इभाङ्ग : इलामको इभाङ्ग-४ स्थित सरस्वती खेलमैदान आयोजित वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि इभाङ्ग ६ ले जितेको छ । फाइनलमा इभाङ्ग ८ लाई ३-२ को अन्तरले पाखा लगाउँदै  इभाङ्ग ६ ले उपाधि चुमेको हो ।

प्रतिस्पर्धात्मक खेलमा ३ मिनेट बित्न नपाउँदै इभाङ्ग ८ ले पेनल्टीको अवसर पाएको थियो । विष्णु बुढाथोकीले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलायो । ३३ औँ मिनेटमा इभाङ्ग ६ ले पनि पाएको पेनाल्टीको अवसरलाई गगन राईले गोल गर्दै खेल बराबरीमा ल्याए । ४२ औँ मिनेटमा इभाङ्ग ८ का डिल्ली काफ्लेले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । तर त्यो अग्रता लामो टिक्न सकेन ।

६० औँ मिनेटमा इभाङ्ग ६ का मिलन राईले गोल फर्काएर बराबरीमा ल्याए । ७३ औँ मिनेटमा पुन इभाङ्ग ६ ले दोस्रो पेनाल्टीको मौका पायो । पेनाल्टीमार्फत गगन राईले गोल गर्दै टिमलाई ३-२ को अग्रता मात्र दिलाएनन् त्यो गोल नै उपाधिका लागि निर्णायक बनेको थियो ।

जितसैँगै इभाङ्ग ६ ले नगद १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्‍यो । उपविजेता इभाङ्ग ८ ले भने नगद पाँच हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्रमा चित्त बुझाउनुपर्‍यो ।

सरस्वती खेलमैदान उद्घाटनको अवसरमा फुटबल प्रतियोगिता वडा समिति इभाङ्ग ४ ले आयोजना गरेको प्रतियोगितामा इभाङ्ग र बाँझो गाविसका गरी १५ टिमको सहभागिता रहेका थियो । प्रतियोगिता पुस १८ दिख सञ्चालन हुँदै आएको थियो ।

आयोजक समितिका अध्यक्ष राजमान राईको अध्यक्षतामा र भएको पुरस्कार वितरण समारोहमा खेल मैदानका लागि जग्गादाता इभाङ्ग ४ का ठाकुरसिंह राईलाई सम्मान समेत गरियो । उनले आफ्ना स्वर्गीय बाबु नरबहादूर राई र आमा धनमाया राईको नाममा ६ रोपनी १२ आना जग्गा खेलमैदानका लागि स्थानीय सरस्वती आधारभूत विद्यालय इभाङ्ग ४ लाई नि:शुल्क उपलब्ध गराएका थिए । राई अहिले बेलायती सेनामा कार्यरत छन् ।

कार्यक्रममा प्रतियोगिता सम्पन्न गर्न आर्थिक सहयोग गर्ने इभाङ्ग ४ निवासी कृष्णवहादुर लिम्बू, उज्ज्वल राई र अतित योङहाङ्गलाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि मणीकुमार राई,  सरस्वति आधारभूत विद्यालयका शिक्षक अम्बिकाप्रसाद राई र युवा विद्यार्थी अतित योङहाङ्गले मन्तव्य राखेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार