बजेट अभावले इलाम बसपार्क निर्माणमा ढिलाइ

नयाँ बुलन्द

इलाम : सदरमुकामकाम व्यवस्थित ढंगको बसपार्क निर्माण सुरु भए पनि बजेट अभावले पूरा हुन सकेको छैन । ट्राफिक जाम व्यवस्थापनसँगै यात्रु र स्थानीयलाई सहज हुने ठानिएको बसपार्क निर्माण थालिएको पाँच वर्ष बितिसक्दा पनि सुस्त गतिमा काम भएको छ ।

०६८/७९ मा नै निर्माण थालिए पनि अपेक्षित बजेट नहुँदा काम ढिलो भएको हो । इलाम नगरपालिका ३ सेरामा निर्माणाधीन बसपार्कको काम पूरा गर्न कुल १० करोड रुपैयाँ अनुमान गरिरएको छ । अहिलेसम्म चार करोड रुपैयाँ मात्र आएको छ । सहरी विकास तथा आवास डिभिजन कार्यालयले दुई वर्षमा काम सक्ने लक्ष्य राखिए पनि बजेट अभावले समस्या भएको जनाएको छ । ग्रिनबिल्डिङको अवधारणाअनुसार बसपार्क बन्ने छ । घेराबारा गर्नेसहित एप्रोज र इन्ट्रान्स रोडको काम सकिएको बसपार्कको तल्लो लेयरको काम भइरहेको छ ।

पानी व्यवस्थित गर्ने काम पनि यससँगै हुने कार्यालयले जनायो । ‘पर्याप्त बजेट नआएका कारण लक्ष्यअनुसार काम गर्न नसकिएको हो,’ इन्जिनियर सुवर्ण चौधरीले भने, ‘स्टमेटसहित थप रकम माग गरिएको छ ।’ निर्माण पूरा भएपछि १८ वटा बस राख्न सकिनेछ । बसपार्क क्षेत्रमा १२ ट्याक्सी पार्किङ गर्न सकिनेछ । बजारदेखि करिब दुई किमि टाढाको बसपार्क बजारवासीका लागि केही अपायक भएको गुनसो आएको छ ।

‘नगरपालिकाले समग्र भूगोललाई हेर्नुपर्छ,’ कार्यकारी अधिकृत महेन्द्र खाम्याङले भने, ‘बजार क्षेत्रमा व्यवस्थित बसपार्क बनाउने ठाउँ नभएको र बढदो सवारीका कारण पनि यो स्थान उपयुक्त हो ।’ बजार क्षेत्रमा रहेको हालको बसपार्कलाई ट्याक्सी स्ट्यान्डका रूपमा प्रयोग गर्ने कार्यालयको सोच छ । बसपार्क निर्माण थालिएपछि त्यस क्षेत्रमा जग्गाको मूल्य अकासिएको छ । त्यस्तै घर निर्माण क्रम पनि बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार