नयाँ बुलन्द
पाँचथर : पाँचथरको फिदिममा सम्पन्न आठौँ फाल्गुनन्द गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि विर्ता युनाइटेड क्लब झापाले जितेको छ ।
आइतबार फिदिम उच्च माविको खेलमैदानमा सम्पन्न फाइनलमा साबिक विजेता कर्णसिंह सोनाम स्मृती क्लब ताप्लेजुङलाई २-१ गोलको झिनो अन्तरले पराजित गर्दै झापाले उपाधि चुमेको हो ।
उपाधि दिलाउन लागि झापाका कप्तान योगश गुरुङ र बुद्ध चेम्जोङले एक/एक गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा झापाका कप्तान योगेशले खेलको ६७ आैँ मिनेटमा गोल टिमको तर्फबाट पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । तर त्यो गोल उपाधिका लागि भने पर्याप्त भएन । इन्जुरी समयमा पाएको फ्रिकिकबाट गोल गर्दै ताप्लेजुङका रजीन धिमालले खेल बराबरीमा पुर्याए ।
निर्धारीत समयमा खेल बराबरी भएपछि अतिरीक्त समय खेलाइएको थियो । अतिरीक्त समयको तेस्रो मिनेटमा झापाका बुद्ध चेम्जोङले निर्णायक गोल गर्दै टिमलाई उपाधि दिलाएका हुन् ।
जितसँगै विर्ता युनाइटेडले दुई लाख ५० हजार रुपैयाँ र ट्रफी पाएको छ । उपविजेता ताप्लेजुङले एक लाख ५० हजार रुपैयाँ र ट्रफीमा चित्त बुझाउन बाध्य बन्यो । फाइनल खेलको म्यान अफ दि म्याच ताप्लेजुङका सुनिल बल घोषित भए । उनले पाँच हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताको सर्बाधिक गोलकर्ता झापाका कर्ण लिम्बु भए । प्रतियोगिताभर पाँच गोल गरेका उनले १० हजार रुपैयाँ प्राप्त गरे । खेलका उत्कृष्ट गोल रक्षक झापाका मनोज प्रधान भए । त्यस्तै उत्कृष्ट डिफेन्डर झापाका देबेन्द्र तामाङ बने भने उत्कृष्ट फरवार्ड झापाका विवेक लिम्बु र उत्कृष्ट मिल्डफिल्डर ताप्लेजुङका निराजन खड्का बने । उत्कृष्ट खेलाडी झापाका योगेश गुरुङ बने । नव उदयमानि खेलाडी आयोजक फिदिम स्र्पोटिङका शरण बस्नेत बने । त्यस्तै उत्कृष्ट प्रशिक्षक झापाका नरेन्द्र लिम्बु भए ।
फिदिम स्पोटिङ क्लबको आयोजनामा नेपाल, भारत र भुटानका गरी १० टिम सहभागिता रहेको थियो । प्रतियोगिता गत पौष १५ गतेदेखि सञ्चालन भएको थियो ।