घटना नम्बर–१
२०७३ पुस ४ गते युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि अज्ञात समुहले गोली हान्यो । रुपन्देही र नवलपरासीको सिमानामा पर्ने खैरहनीमा गोली लागेपछि अस्पताल भर्ना गरिएका तिवारीको मृत्यु भयो ।
घटना नम्बर २
दुर्गा तिवारी हत्याकाण्ड भएको दश दिनपछि बाँकेको कोहलपुरमा युवा संघका केन्द्रिय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार भयो । कोहलपुरस्थित एक रेष्टुरेण्टमा खाना खाएर निस्कँदै गर्दा बाजुराका लक्ष्मण मल्लले बुढाथोकीलाई खुकुरी हानेर भागे । बुढाथोकी हाल अस्पतालमा छन् ।
घटना नम्बर ३
आफ्नो संगठनको केन्द्रिय सदस्यमाथि खुकुरी प्रहार भएको विरोधमा युवा संघले गत शुक्रवार काठमाडौंको नयाँ बानेश्वरमा चक्काजाम गर्ने कार्यक्रम राखेको थियो । चक्काजाम गर्नुको साटो युवा संघका कार्यकर्ता सरकारी स्वामित्वको सवारी साधन तोडफोड गर्नतिर लागे । युवासंघका कार्यकर्ताले बा.२ झ १३९२ नम्बरको बाग्मती सभ्यता विकास परियोजनाको गाडीमा आगो लगाए ।
- माथिका यी तीन घटना ११ दिनभित्रका हुन् । तिवारी हत्याकाण्डमा प्रयोग भएको बा.५१ प ८०७३ नम्बरको मोटरसाईकल भोलीपल्ट मणिग्रामको कान्छीबजारमा वेवारिसे अवस्थामा भेटियो । तर, हत्या आरोपी अहिलेसम्म भेटिएका छैनन् । हत्यलाई राजनीतिककरण गर्ने प्रयास पनि भयो ।
- तिवारी घटनाबारे अनुसन्धान तथा छानविनका लागि गृह मन्त्रालयले एआईजी विज्ञानराज शर्माको नेतृत्वमा एउटा समिति बनाएको थियो । १५ दिनभित्र प्रतिवदेन बुझाउने समय पाएको समितिले आफ्नो काम गरिरहेको भनिएपनि घट्नामा संलग्न आरोपी पक्राउ हालसम्म पक्राउ परेका छैनन् ।
- जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रवीन्द्र धानुकले तिवारी घटनाबारे अनुसन्धान भईरहेको रेडिमेड उत्तर दिँदै भने, ‘अनुसन्धान हुँदै छ, उपलब्धी भए शत प्रतिशत हुन्छ । हालसम्म शुन्य जस्तै छ ।’
- घटनाको अनुसन्धानमा संलग्न केन्द्रिय अनुसन्धान ब्युरोका एसएसपी मनोज न्यौपानेले पनि घट्नाबारे अनुसन्धान भईरहेको उत्तर दिए । घट्ना भएकै दिन मनोज पुनले भारतीय नम्बरबाट टेलिफोन गरेर तिवारीलाई आफुले गोली हानेको बताएका थिए ।
खुकुरी हान्ने फरार, गाडी जलाउनेको मोबाइल अफ
- बाँकेको कोहलपुरमा सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गर्ने लक्ष्मण मल्ल फरार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी टेक राईले लक्ष्मण फरार भएको जानकारी दिँदै भने, ‘हामी अनुुसन्धानमै छौं, पक्राउ परेकाहरुसँग बयान लिने काम भईरहेको छ ।’
- खुकुरी प्रकरणमा प्रहरीले शंकास्पद पाँच जनालाई पक्राउ गरेपनि मुख्य आरोपी लक्ष्मणलाई भने पक्राउ गर्न सकेको छैन ।
- ‘आवारा केटो’ को रुपमा विगत केही समयदेखि कोहलपुर बस्दै आएका मल्ल एकपटक एमालेले आयोजना गरेको बन्दको समयमा सहभागी भएको प्रहरी स्रोतको भनाई छ । पार्टीको कार्यक्रममा सहभागी भएकाले लक्ष्मण एमालेकै संगठित सदस्य हुनसक्ने बताईएको छ ।
- दुईवटा घटनाको उपजको रुपमा घटेको राजधानीको नयाँ बानेश्वरमा सरकारी गाडी जलाउने कार्यमा संलग्नको भने मोवाईल स्वीच अफ गरेर बसेको प्रहरी स्रोतको जनाएको छ ।
- गाडी जलाउने कार्यमा संलग्नहरुको पहिचान भैसकेको जानकारी दिँदै महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रधुम्न कार्कीले भने, ‘गाडी जलाउनेको आईडेन्टीफाई भैसेकेको छ, हामी उनीहरुलाई खोजिरहेका छौं ।’
- कार्कीका अनुसार हालसम्म दुई जनाको पहिचान खुलेको छ ।
- स्रोतका अनुसार घटना पार्टीको आन्तरिक विषयसँग जोडिएकाले प्रहरीले निकै सर्तकतासँग कदम चालेको छ । ‘जसका कारण यस्ता गंभीर अपराधमा पनि प्रहरी कारवाही सुस्त देखिएको छ । ’ गृह मन्त्रालय स्रोत भन्छ ।