पाँचथर : पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपमा विर्ता युनाइटेड क्लब झापा क्वाटर फाइनल प्रवेश गरेको छ । आइतबारको खेलमा भारत कालिङपोङको शेर क्लबलाई ७-० को भारी गोल अन्तरले पराजित गर्दै झापाले अघिल्लो चरणको यात्रा पक्का गरेको हो ।
जीतका लागि विर्ता युनाइटेड क्लब झापाका कर्ण लिम्बू एक्लैले ४ गोल गरेका थिए । उनले खेलको १२ औं, २५ औं, ३१ औं र ५८ औ मिनेटमा गोल गरी फाल्गुनन्द गोल्डकपमा पहिलो पटक ह्याट्रिक गर्ने खेलाडी समेत बने । स्ट्राइकर रञ्जित श्रेष्ठले २ र निशान खड्काले १ गोलको योगदान गरेका थिए । श्रेष्ठले २१ औँ र ३४ औँ मिनटेमा तथा खड्काले २७ औं मिनेटमा गोल गरेका थिए ।
पूर्वाञ्चलको चर्चित फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा नेपालका ए डिभिजन सहित भारत तथा भुटानका टिमहरुको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता टिमले दुई लाख ५० हजार र दोस्रो हुने टिमले एक लाख ५० हजार नगद पुरस्कार पाउने आयोजक टिम फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिता अन्तरगत सोमबार हिमालय शेर्पा क्लब र इलेभेन एरोज क्लब दुहवी सुनसरीबीच प्रतिस्पर्धा हुनेछ।