प्रयास लिम्बू
ताप्लेजुङ : ताप्लेजुङमा आइतबार एक वन कर्मचारीको खुकुरी प्रहार गरी निर्ममतापूर्वक हत्या भएको छ । जिल्ला वन कार्यालय ताप्लेजुङअन्तर्गत खोक्लिङ रेञ्जपोष्टमा कार्यरत वन रक्षक गणेश शाहीको हत्या गरिएको हो ।
जाजरकोट, दसेरा ८ घर भई विगत डेढ वर्ष अघिदेखि जिल्लाको खोक्लिङ रेञ्जपोष्टमा कार्यरत वन रक्षक २७ वर्षीय शाहीको टाउको र शरीर फरक–फरक हुनेगरी खुकुरी प्रहार गरेर निर्ममतापूर्वक हत्या गरिएको प्रहरीले जनाएको छ । खोक्लिङ ८ को ओइराखुस्थित एक सामुदायिक वनसम्बन्धि काममा पुगेका शाहीलाई सोही वडाका सविन लिम्बूले खुकुरी प्रहरी गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
उक्त सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष समेत रहेका खोक्लिङ ८ बस्ने हरिलाल पन्तको घरमा शाही शनिबार राति बास बसेका थिए ।
घटनामा संलग्न लिम्बू पन्तका आफ्नै छोरी ज्वइँ भएको जानकारी प्राप्त भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले बताए । प्रनाउ केसीका अनुसार आइतबार बिहान बास बसेको घरबाट केही तलसम्म लखेट्दै लगेर धारिलो खुकुरी प्रहार गरी हत्या गरेको र सव रहेको ठाउँदेखि करिव दुई किलोमिटर टाउको टाढा टाउको फेला परेको छ ।
यता घटनाको कारण खुली नसकेको र हत्या गरी फरार भएको लिम्बूको खोजी कार्यलाई तीब्र पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला वन कार्यालयका सहायक वन अधिकृत सजन चौधरीका अनुसार सामुदायिक वनको स्रोत सर्वेक्षणको काम लिएर शाही दुई/तीन दिन अघि खोक्लिङ पुगेका थिए । घटनाको कारणबारे वन कार्यालयलाई पनि कुनै जानकारी आइनसकेको चौधरीको भनाइ छ ।
स्थानीयका अनुसार सामुदायिक र निजी वनका विषयमा बिहान विवाद भएको र विवादपछि उत्तेजित बनेका लिम्बूले शाहीमाथि खुकुरी प्रहार गरेको बताइएको छ । यस घटना भएको जानकारी प्राप्त हुनासाथ प्रहरी परिचालित छन् भने वन कार्यालयका तर्फबाट पनि खोक्लिङ रेञ्जपोष्टका इञ्चार्ज सुमेश्वरकुमार दासको नेतृत्वमा एक टोली घटनास्थलतर्फ गएको कार्यालयले जनाएको छ ।