पाँचथर : मेची राजमार्गअन्तर्गत् कोल्बुङ–२ मा सेल्फी खिच्दै गरेका पाँचथर फिदिम नगरपालिका–१ का विशाल सम्बाहाम्फेको मृत्यु भएर क्षतिपूर्ति नपाइएको भन्दै उनका आफन्तहरुले आज पाँचथर बन्द गराएका छन् ।वन्दको कारण वजार पसल ठप्प भएका छन् भने सवारी साधानहरु समेत संचालन हुन सकेको छैनन् ।अकस्मात गरिएको वन्दका कारण यात्रीहरु मर्कोमा परेका छन् ।
बस संचालक संघले क्षतिपूर्ति नदिएसम्म शवको पोष्टमाटम समेत नगर्ने भन्दै उनीहरुले आज वन्द गराएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो । शुक्रबार साँझ बसको ठक्करबाट सम्हाम्फेको घटनास्थलमा नै मृत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्याय पाँचथरका अनुसार पाँचथर बाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको को१ख ३५६१ नम्बरको बसले कोल्बुङ, सानो पाथीभरानजिकै सेल्फी खिच्दै गरेका पाँचथरका सम्बाहाम्फेलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
सोही दुर्घटनामा २५ वर्षीय रोशन कन्दङ्वा गम्भीर घाइते भइ उनको झापामा उपचार भइरहेको वताइएको छ । झापाबाट पाँचथरतर्फ मे६प २४१ नम्बरको मोटरसाइकलमा जाँदै गरेका उनीहरुलाई सडकपेटीमा मोटरसाइकल रोकेर कोल्वुङमा सेल्फी खिच्दाखिच्दै बसले ठक्कर दिएको थियो ।