‘संघीयता खारेज भए गणतन्त्र पनि बाँकी रहँदैन’
दाङ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको छानविन गर्न उच्चस्तरीय आयोग गठनको तयारी भइरहेको बताएका छन् । साथै गणतन्त्र र संघीयताविरुद्ध बोल्दै नहिड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिए ।
शनिबार घोराहीमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रको वक्तब्यपछि मन्त्रिपरिषदमा गम्भीर छलफल भएको बताए ।
उनले अघि भने, ‘पहिलो पटक प्रधानमन्त्री हुँदा नै मैले दरबार हत्याकाण्डको छानविन हुनुपर्छ भनेको हुँ, त्यही अनुसार सरकारले उच्चस्तरीय आयोग बनाएर छानविन गर्छ ।’
पूर्वराजा ज्ञानेन्द्रले वक्तव्य निकालेर आफ्नो छटपटी देखाएको र दलहरुको विवादमा खेल्न खोजेको आरोप लगाए । माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले संविधान, गणतन्त्र र संघीयताविरुद्ध बढी वोल्दै गए दुःख पाउने चेतावनी दिए ।
लोकमानलाई कालोमोसो दल्नु राम्रो होइन
प्रधानमन्त्री प्रचण्डले सर्वोच्च अदालतभित्रै अख्तियारका निलम्वित प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दल्नु राम्रो कार्य नभएको बताए ।
‘सर्वोच्चभित्रै जुन घटना भयो, त्यो राम्रो कुरा होइन, यसो गर्नु हुँदैनथ्यो, उनले भने, ‘यस विषयमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ, अदालतभित्रको सुरक्षा अवस्थामा कमजोरी देखिएको हो ।’
संघीयता खारेज भए गणतन्त्र बाँकी रहँदैन
प्रधानमन्त्री प्रचण्डले संघीयता खारेज भएर गणतन्त्र जोगिन नसक्ने बताए । माओवादी केन्द्रको पाँच नम्वर प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले भने, एकथरी मान्छेहरु संघीयतामा जानु गल्ती भयो भन्दैछन् । संघीयता उल्टियो भने यो मात्रै उल्टिने छैन, यसको सम्बन्ध परिवर्तनका मुद्धाहरुसँग छ । संघीयता उल्टियो भने गणतन्त्र उल्टिन्छ, समावेशिता उल्टिन्छ, धर्मनिरपेक्षता पनि उल्टिन्छ ।’
उनले संघीयता उल्टिएर अरु मुद्दा जीवित रहन्छन् भन्ने कसैले सोचेको छ भने त्यो भयानक भूल हुने बताए ।
संघीयता उल्टाएर माओवादी जनयुद्धलाई आपराधिक गतिविधिमा दर्ज गर्ने षड्यन्त्र भइरहेको भन्दै उनले भने, आफूलाई कम्युनिष्ट र प्रगतिशील भन्नेहरुलाई पनि अहिलेको संविधान मन परेको छैन । बन्द कोठाभित्र बरु राजा नै ठीक थिए भन्नेसम्मका छलफल चल्न थालेका छन् । परिवर्तनका मुद्दा उल्टाएर जनयुद्धलाई आपराधिक गतिविधिमा दर्ज गर्ने सपना देखिँदैछ । तर, कसैले चाहँदैमा परिवर्तन उल्टिँदैन, सरकार संविधान कार्यान्वयन गर्न प्रतिवद्ध छ, कसैले चाहँदैमा संविधान खारेज हुँदैन ।’
उनले राष्ट्रवादका नाममा पहाड र मधेशलाई मिल्न नदिने षड्यन्त्र भएको बताए । प्रचण्डले भने, ‘कुरा त राष्ट्रवादको गरिएको छ । तर, त्यसभित्र पहाड र मधेशलाई मिल्न नदिने र देशलाई साम्प्रादायिक द्धन्द्ध र भड्खालोमा हाल्ने गम्भीर षड्यन्त्र लुकेको छ । कसैलाई धकेलेर राष्ट्रियता जोगिदैन, झन् कमजोर हुन्छ । सरकार हिमाल, पहाड र तराईलाई मिलाएर बलियो राष्ट्रिय एकता कायम गर्न चाहन्छ । त्यसैका लागि संविधान संशोधनको प्रस्ताव गरिएको हो ।’
संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव, महाअभियोग प्रस्ताव र निर्वाचन सम्बन्धि विद्येयकमा प्याकेजमै सहमति चाहेको उनले बताए । प्रतिपक्षी साथीहरुले प्याकेजमा सहमति वा संसदीय विधिमध्ये एउटा रोज्नुपर्छ । संसदीय प्रक्रियामा विश्वास गर्ने दलले संसद अवरुद्ध गरेर निर्वाचन रोक्नु शोभनीय हुँदैन, उनले भनेका छन् ।
निशानदाजु भट्टराईको सहयोगमा अनलाइनखबरबाट