क्रिसमसको अवसरमा आइतबार सार्वजनिक बिदा

क्रिसमसको अवसरमा आइतबार सार्वजनिक बिदा

काठमाडौं : ‘क्रिसमस डे’का अबसरमा सरकारले भोलि (आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

धर्मनिरपेक्ष मुलुकमा सबै धर्म समान हुने भएकाले गृह मन्त्रालयले क्रिश्चियन धर्मावलम्बीहरुको पर्व ‘क्रिसमस डे’का अबसरमा सार्वजनिक विदा दिने निर्णय गरेको उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए। उनले नेपाल धर्म निरपेक्ष मुलुक भएकाले विगतदेखि दिँदै आएको बिदालाई निरन्तरता दिने  निर्णय भएको बताए ।

मुलुक धर्मनिरपेक्ष भएको घोषणा भएपछि सरकारले विसं २०६४ पछि डिसेम्बर २५ अर्थात ‘क्रिसमस डे’का दिन सार्वजनिक बिदा दिन सुरु गरेको थियो।  तर, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ‘क्रिसमस डे’ का दिन दिँदै अाइएको सार्वजनिक विदा कटाैती गरेको थियो।

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सवका अबसरमा २५ डिसेम्बरका दिन देशभरका चर्चमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम गरी क्रिश्चियन धर्मावलम्बीहरुले मनाउने गर्दछन्।

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जारी गरेको विज्ञप्तिमा नेपालभर र विदेशस्थित नेपालका कूटनीतिक नियोगमा पर्व  बिदाको रुपमा आइतबार बिदा दिने निर्णय गरिएको उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार