महेन्द्र रत्न बहुमुखी क्याम्पसमा तोडफोड

समस्या समाधानमा प्रशासनले चासो नदेखाएको आन्दोलनरत संगठनको आरोप

todfod-jhyal

याम माबोहाङ लिम्बू

इलाम : विद्यार्थी संगठनहरुबीच विवाद हुँदा इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा बिहीबार तोडफोड भएको छ । तोडफोड हुँदा क्याम्पसको १३ नम्बर हलको पाँच वटा झ्यालको सिसा र ढोकामा सामान्य क्षति भएको क्याम्पस प्रसाशनले जनाएको छ ।

एमाले निकट अनेरास्ववियुले अगुवा कार्यकर्ता प्रशिक्षण गर्न थालेपछि नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी फोरम र संघिय विद्यार्थी युनियन लिम्बुवानले कार्यक्रम रोक्न खोज्दा विवाद भई झडपको रुप लिएको थियो । झडपका क्रममा क्याम्पस तोडफोड भएको बताइएको छ ।

क्याम्पसमा अनेरास्ववियुको कार्यक्रमको बारेमा कुनैपनि जानकारी नभएको कारण अचानक यस्तो घटना भएको निमित्त क्याम्पस प्रमुख धनकुमार न्यौपानेले बताए । नेविसंघ, अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी फोरम र  संघीय विद्यार्थी युनियनले क्याम्पसको बस दुरुपयोगको समस्या समाधान नभएसम्म कुनै पनि संगठनलाई कार्यक्रम गर्न नदिने कार्यक्रम रहेको विज्ञप्ती मार्फत क्याम्पस प्रशासनलाई बुधबार नै जानकारी गराएको थियो ।

कार्यक्रम गर्न नदिने आन्दोलनरत विद्यार्थी संगठनले सार्वजनिक गरेको आन्दोलनलाई अनेरास्ववियुले अटेर गरी जबरजस्ती कार्यक्रम गर्न खोजेपछि भएको विवादले ताडफोडको रुप लिएको क्याम्पस प्रशासनको भनाई छ ।

आन्दोलनरत चार विद्यार्थी संगठनले भने क्याम्पस प्रशासनको ववास्ताका कारण यस्तो घटना भएको बताएको छ । क्याम्पसको वसलाई वनभोजका लागि लगेर दुरुपयोग गरेको विषयमा अनेरास्ववियुसँग स्पष्टीकरण लिई कारबाही गर्नुपर्ने, क्याम्पससँग सहमति भएको बैठकको निर्णय पुस्तिका च्यात्ने कार्यकर्तालाई कारबाहीको दायरामा ल्याउनुपर्ने लगायतका माग पूरा गर्न चार विद्यार्थी संगठनले मंगलबार साँझसम्मको अन्तिम समयसीमा क्याम्पसलाई दिएका थिए । दिएको समय भित्र क्याम्पस प्रशासनले समस्याको समाधान गर्न कुनै पहल नगरेकाले क्याम्पसमा यस्तो घट्ना भएको चार विद्यार्थी संगठनको आरोप छ ।

यस विषयमा निमित्त क्याम्पस प्रमुख न्यौपानेसँग बुझ्दा क्याम्पस प्रमुखले समाधानको पहल गर्दागर्दै अचानक स्वाथ्य्यका कारण काठमाण्डौं जानुपर्ने भएकोले समयमै समाधान हुन नसकेको स्वीकार गरे । उनले घटना पछि दुवै तर्फका विद्यार्थी संगठनलाई छलफल गरी समाधानको पहल गरिरहेको समेत बताए ।

यता आन्दोलनरत विद्यार्थी संगठनले भने समस्या समाधान नभएसम्म कार्यक्रम नगर्न आग्रह गर्न जाँदा आफूहरुमाथि आक्रमण हुन थालेपछि प्रतिवाद गरेको बताएका छन् । क्याम्पससँगको समस्या समाधान नभइन्जेलसम्म क्यम्पसमा कुनै पनि कार्यक्रम गर्न नदिने घोषित कार्यक्रम अनुसार कार्यक्रम नगर्न आग्रह गर्न जाँदा आक्रमणमा उत्रिएपछि प्रतिवाद गरेको ती विद्यार्थी संगठनले बताएका छन् ।

कार्यक्रम गर्न नदिने पूर्व निर्धारित कार्यक्रमको बारेमा जानकारी गराउँदै कार्यक्रम रोक्न आग्रह गर्दा पछाडिका विद्यार्थीबाट आक्रमण हुन थालेपछि झडपको स्थिती सृजना भएको अखिल क्रान्तिकारीका इलाम सहइन्चार्ज शन्धिभक्त शंकरले बताए ।

अनेरास्वियुको जबरजस्तीले घटना भएको नेविसंघका बबिन बोखिमले बताए । ‘बस दुरुपयोगको विषयमा छानविन गरि कारबाही गर्ने भनी क्याम्पस प्रशासनसँग गरेको माइन्यूज च्यातेपछि यसो गर्नेलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग सहित पठन पाठनसँगै क्याम्पसको प्रशासनिक काम बाहेक अरु कुनैपनि कार्यक्रम गर्न नदिने जानकारी गराइसकेका थियौं’ बोखिमले भने, ‘हाम्रो निर्धारित कार्यक्रम अनुसार कार्यक्रम नर्गन आग्रह गर्दा जबरजस्ती गरेपछि भडपको स्थिती आएको हो।’

समाजवादी विद्यार्थी फोरमका क्याम्पस अध्यक्ष रामकुमार लिङ्दमले बसको दुरुपयोगको विषयमा क्याम्पस प्रशासनले चासो नदेखाएकै कारण स्थिती यस्तो घटना भएको बताए । उनले बस दुरुपयोग र माईन्यूट च्यात्नेलाई कारबाहीको दायरामा ल्याए तत्काल समस्याको समाधान हुने बताए ।

यता अनेरास्ववियुका जिल्ला अध्यक्ष इश्वरी तामाङ्गले आफूहरुको पूर्व निर्धारित कार्यक्रममा अन्य विद्यार्थी संगठनले बिथोल्नु लोकतान्त्रिक प्रावधान विपरित भएको प्रतिक्रिया दिए । उनले हलमा आन्दोलनरत विद्यार्थी संगठन तोडफोडसँगै ढुङ्गामुढा गर्न उत्रिएको दावी गरे । तामाङका अनुसार जिल्लाको अगुवा कार्यकर्ताको प्रशिक्षण तथा स्वतन्त्र विद्यार्थी युनियन र विद्यार्थीका समसायिक विषयको छलफल भइरहेको थियो । अध्यक्ष तामाङले चार दिन अगाडि नै कार्यक्रम तय गरिएकाले स्थगित नगरिएको जनाए ।

गत २८ मंसिरमा अनेरास्ववियुले क्याम्पसको बस वनभोजमा लगेर दुरुपयोग गरेको आन्दोलनरत विद्यार्थी संगठनको  आरोप छ । त्यस लगत्तै अनेरस्वविु बाहेकका विद्यार्थी संगठनले क्याम्पससँगको छलफलमा वस दुरुपयोग गरेको विषयमा अनेरास्ववियुसँग स्पष्टीकरण लिने र सबै संगठनलाई वर्षको एक पटक शैक्षिक भ्रमणका लागि क्याम्पसले ३० लिटर डिजेलसहित बस दिने सहमति भएको थियो । तर सो निर्णय पुस्तिका अनेरास्ववियुका कार्यकर्ताले च्यातेपछि समस्या झन् जटिल बन्दै गएको थियो । यस क्रममा आन्दोलनरत विद्यार्थी संगठनले यसअघि नै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरी सहमति नभएसम्म कुनैपनि कार्यक्रम हुन नदिने लगायतका कार्यक्रम सार्वजनिक गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार